• ३ असोज २०८२, शुक्रबार

सप्तरीमा मनाइयो १० औँ संविधान दिवस

blog

राजविराजमा संविधान दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम । तस्बिर : देवराम यादव

देवराम  यादव

सप्तरी, असोज ३ गते । सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मूल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा बिरामीलाई फलफूल वितरण गरिएको हो ।

संविधान दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा प्रभात फेरि तथा गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । उक्त अवसरमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । 

र्‍यालीमा राजनीतिक दलका प्रतिनिधिहरुको भने सहभागिता थिएन । जेनजी पुस्ताको विद्रोहपछि देशमा भएको असहज परिस्थितिका कारण संविधान दिवसको उत्साहमा कमी आएको सहभागीहरु बताउँछन् । 

त्यसैगरी, संयुक्त लोकतान्त्रिक मोर्चा सप्तरीले संविधानको विरोधमा राजविराजका विभिन्न स्थानमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको छ । उनीहरूले २०७२ सालमा जारी भएको संविधानलाई मधेशी जनताको भावना र अधिकार बिनाको बताएर पुन:लेखन तथा संशोधनको माग गरेका छन् । मोर्चाका नेता गजेन्द्र मण्डलका अनुसार, विरोध प्रदर्शनमा विभिन्न नाराजुलुस गरिएको थियो ।

२०७२ साल असोज ३ मा दोस्रो संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भए पनि मधेशी दलहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउँदै आएका छन् ।

सहभागीहरूका अनुसार हालैको जेनजी पुस्ताको आन्दोलनपछि देशमा उत्पन्न असहज परिस्थितिले संविधान दिवसको उत्साहमा केही कमी आएको महसुस भएको छ ।