• ३ असोज २०८२, शुक्रबार

गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन

blog

न्युयोर्क, असोज ३ गते । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।

परिषद्का १० निर्वाचित सदस्यले पेस गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना शर्त र स्थायी युद्धविराम’, हमास र अन्य समूहद्वारा राखिएका सबै बन्धकको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।

अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले भन्नुभयो, “यस प्रस्तावको अमेरिकी विरोध कुनै आश्चर्य होइन । यसले हमासको निन्दा गर्दैन, न इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता दिन्छ । बरु यसले हमासलाई फाइदा पुग्ने झूटा कथालाई वैधानिकता दिन्छ ।”

अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले तीव्र आलोचना गरे । प्यालेस्टिनी दूत रियाद मन्सुरले भन्नुभयो, “परिषद्को मौनता यसको विश्वसनीयता र अधिकारका लागि ठूलो मूल्यमा आउँछ । अत्याचार अपराध भइरहेका बेला भिटो शक्तिको प्रयोग हुनुहुँदैन ।” अल्जेरियाका राष्ट्रसङ्घीय राजदूत अमर बेन्दजामाले भन्नुभयो, “प्यालेस्टिनी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई क्षमा गर्नुहोस् । संसारले अधिकारको कुरा गर्छ तर तपाईंहरूलाई अस्वीकार गर्दछ । हाम्रो निष्कपट प्रयास पनि अस्वीकारको पर्खालसँग ठोक्कियो ।”

इजरायली राजदूत ड्यानी डेननले ‘गाजामा हाम्रो युद्धलाई कुनै औचित्य आवश्यक छैन’ भन्दै अमेरिकाले दिएको भिटो समर्थनप्रति आभार व्यक्त गर्नुभयो । यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८० औँ वार्षिकोत्सवकै दिन भयो । अल जजिराका कूटनीतिक सम्पादक जेम्स बेजले यसलाई ‘उदास’ क्षणका रूपमा वर्णन गर्दै भन्नुभयो, “अमेरिकाको दृष्टिकोणले ‘अमेरिका–पहिलो’ सोचलाई प्रतिबिम्बित गर्छ, जबकि धेरै देशहरूले बहुपक्षीय कूटनीतिको समर्थन गरिरहेका छन् ।” रासस/एएनआई