राजन रावत
हुम्ला, असोज ३ गते । जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका एक जना युवा बेपत्ता भएका छन् । जिल्ला नाम्खा गाउँँपालिका– ३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा १० दिनदेखि बेपत्ता हुनुहुन्छ ।
२३ वर्षका लामा नारायनथान गुम्वामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भजिजोसँग बस्दै आउनुभएको उहाँका बुबा टैछिरिङ लामाले जानकारी दिनुभयो ।
गत भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएको बुबा टैछिरिङले बताउनुभयो । होटेलम काम गदै आउनुभएको लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर प्रदर्शनमा जानुभएको थियो ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता भएको बुबाले बताउनुभयो । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन बुवा लामाले आग्रह गर्नुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।
हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गर्नुभएको छ ।
समाजकातर्फबाट बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताउनुभयो ।