• ३ असोज २०८२, शुक्रबार

मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’

blog

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ पछिको सामूहिक तस्बिर । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, असोज ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ । मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबार ब्रेक थ्रु भएको हो । 

मिक्वाखोला –४ साँबाको फुङफुङ्गे मन्दिरदेखि मिक्वाखोला –३ को लिवाङ पुछार मेवाखोलासम्म रहेको आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिनुभयो । आयोजनाको मुख्य सिभिल संरचना निर्माणसँगै आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा विद्युत् प्रसारण लाइनसम्बन्धी कार्यहरू सम्पन्न हुने अवस्थामा रहेको आयोजनाका प्रमुख रवि मुल्मीले बताउनुभयो । 

करिब १४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनाको हेडवर्कस् साँवाको तेम्बामा र विद्युत् गृह लप्सिबोटेमुनि छ । आयोजनाबाट उत्पादित विद्युत् १०.७ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन हुँदै नेपाल विद्युत् प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ । त्यसका लागि विद्युत् गृहदेखि प्रसारण लाइनसम्मको दूरीमा करिब ३६ वटा टावर निर्माण कार्य भइरहेको आयोजनाका प्रमुख मुल्मीको भनाइ छ ।