• ३ असोज २०८२, शुक्रबार

सल्यानमा रेबिजविरुद्ध खोप अभियान तथा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन

blog

घरपालुवा कुकुरलाई रेबिज रोगविरुद्ध खोप लगाउँदै पशु सेवा प्राविधिक । तस्बिर : शङ्कर केसी

शङ्कर केसी,

सल्यान, असोज ३ गते । सल्यानका विभिन्न स्थानीय तहहरूले रेबिज रोगविरुद्ध खोप अभियान र जनचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । रेबिज एक प्राणघातक भाइरल रोग भएकाले यसको रोकथामलाई लक्षित गर्दै कालिमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाले विशेष अभियान अघि बढाएका हुन्।

विश्व रेबिज दिवसलाई लक्षित गरेर जिल्लाको कालिमाटी गाउँपालिकाले करिब दुई सय घरपालुवा कुकुर तथा बिरालोलाई दशैँ अघि नै निःशुल्क खोप लगाउने तयारी गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार असोज १२ गते पर्ने विश्व रेबिज दिवसको अवसर पारेर खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीका अनुसार पशु विकास शाखासहित गाउँपालिकाको वडा २, ३ र ४ का कार्यालयमार्फत असोज ७ देखि १२ गतेसम्म खोप उपलब्ध हुनेछ । गाउँपालिकाका पशु चिकित्सक डा. विकल गौतमका अनुसार ३५० डोज खोप उपलब्ध रहेको र पालिकाभरिका घरपालुवा जनावरलाई खोप दिने लक्ष्य लिइएको छ । “रेबिज नियन्त्रणका लागि यो अभियान प्रभावकारी हुने विश्वास लिएको छ,” उहाँले भन्नुभयो ।

यसैगरेर छत्रेश्वरी गाउँपालिकाले विद्यालयस्तरमै रेबिज रोगबारे जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । पशुपन्छी विकास शाखाले वडा ६ का चार विद्यालयमा बिहीबार सचेतनामूलक शिक्षा कार्यक्रम सम्पन्न गरेको हो । त्रिभुवन जनता माध्यमिक विद्यालय भोटेचौर, एल्लोबीट इंग्लिश बोर्डिङ स्कुल लान्ती, छत्रेश्वरी आधारभूत विद्यालय गर्चे र शारदा माध्यमिक विद्यालय शंखमूलमा सम्पन्न कार्यक्रममा पशु चिकित्सक डा. रुकेश घिमिरेले विद्यार्थीलाई रेबिज रोगको कारण, लक्षण, जोखिम र रोकथामबारे अभिमुखीकरण गर्नुभएको थियो ।

यसवर्षको विश्व रेबिज दिवसको नारा “अहिले कार्य गरौँः तपाईं, म, हाम्रो समुदाय” भन्ने रहेको छ । विश्वव्यापी रूपमा सन् २०३० भित्र मानिसमा रेबिज शून्य बनाउने लक्ष्य रहेको भए पनि नेपालमा हरेक वर्ष सयौँ मानिस यो रोगका कारण ज्यान गुमाइरहेका तथ्याङ्क छन् । रोगको लक्षण देखिएपछि उपचार सम्भव नभएकाले यसको रोकथाम नै मुख्य उपाय हो ।

सल्यानका स्थानीय तहहरूले सञ्चालन गरिरहेका खोप अभियान र जनचेतना कार्यक्रमले पशु तथा मानिसलाई सुरक्षित बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । छत्रेश्वरी गाउँपालिकाले घरपालुवा जनावरलाई खोप लगाउन, टोकेमा तत्काल स्वास्थ्य संस्थामा जान र पशु स्वास्थ्यकर्मीको सल्लाह लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।