• ३ असोज २०८२, शुक्रबार

संविधान दिवस युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

blog

सन्तोष दहित
दाङ, असोज ३ गते ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । 'समृद्ध लुम्बिनी, खुसी नागरिक' मुख्य सङ्कल्पसहित दिवस मनाइएको थियो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । ‘‘युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ ।,’’उहाँले भन्नुभयो, ‘‘लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो । यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु ।’’

उहाँले कार्यशैली र तौर–तरिकामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने सङ्कल्प बोकेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्यलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी र जवाफदेही कार्यशैली, नागरिकका गुनासाहरूको समयमै सम्बोधन, मितव्ययिता र सदाचारपूर्ण आचरणलाई प्रवर्धन गर्दै सरकार नागरिकलाई सेवा पुर्‍याउनेतर्फ केन्द्रित छ ।

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट निकास खोजिनुपर्ने बताउनुभयो । ‘‘हाम्रो संविधान अब्बल संविधान हो । यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ ।,’’उहाँले भन्नुभयो, ‘‘अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ । अब सबैले आत्मसमीक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नुहुँदैन ।’’

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताउनुभयो । ‘‘सबैका आ–आफ्ना गुनासा छन् । ती गुनासालाई संविधानलाई अझ माटोसँग सुहाउने बनाउँदै समेट्न जरुरी छ । यो सबैको कर्तव्य हो । यही संविधानमा टेकेर देशको विकास गर्ने दायित्व सबैकाे हो ।,’’ उहाँले भन्नुभयो, ‘‘सबै नेपालीलाई एक ठाउँमा ल्याउन जरुरी छ । सुशासन र विकास दिन जरुरी छ । अराजकतामा सुशासन खोज्नु जटिल हुन्छ । घुसपैठ र आगजनीको पूर्ण छानबिन हुन जरुरी छ ।’’

त्यसैगरी, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताउनुभयो । ‘‘यो संविधान दस वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गर्दैछ । यो लामो अवधि हो । धेरै परिवर्तन भइरहेका हुन्छन् । अब सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘विकासको जुन चरण हुन्छ, त्यसलाई संविधानले समेट्दै लैजानुपर्छ । नयाँ समाजलाई दिशा देखाउन सक्ने क्षमता संविधानले राख्दछ ।’’ उहाँले राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानुन सचिव लीलाधर सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभाका विषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरु, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता थियो ।