कतिपय इतिहासमा समयका निकै निर्मम छाया विम्बित हुन्छन् । अनि कतिपय परिवर्तन ती भयानकताका ऐना बनिदिन्छन् । नेपाल एउटा यस्तो देश हो, जसको इतिहासमा यस्ता कैयौँ भयावह संयोग मिसिएका छन् । हो, फेरि हाम्रो पुस्ता एउटा त्यस्तै इतिहासको निरीह साक्षी बनेको छ । यहाँ कैयौँ सपनाका भेल बगिरहेको छ, कैयौँ जीवन सेलिएका छन् । कैयौँ जीवनका आशा अनि भरोसा गाँसिएका छन् । र पनि एउटा कठोर सत्य के हो भने यी संयोग र संवेगसँगै हामी फेरि उठ्नु त छँदै छ ।
आज संविधान दिवस पनि हो । २०७२ साल असोज ३ गते आफैँमा नेपालीले आफ्नो जीवनमा आफैँले लेखेको एउटा यस्तो इतिहास हो जो ‘एक जुगमा एक दिन...’ थियो । हामी त्यो बेला पनि महाभूकम्पले थलिएका थियौँ । भूकम्पले छोडिगएका पीडा अनि धुलो टक्टक्याएर हामी भर्खरै उठ्दै थियौँ । ‘जुग’ को त्यो दिनले हामीलाई ती सारा पीडा बिर्साएको थियो । किनकि त्यो नेपाली जनताले आफ्नो इतिहासमा आफैँले हस्ताक्षर गरिरहेका थिए । त्यही दिवसमा सम्झिइरहँदा यतिबेला हामीसँग सडकमा रगतसँग लतपतिएका ती ७२ होनहार जीवन, देशका कैयौँ ऐतिहासिक भग्नावशेष अनि एउटा शून्यतामा छौँ । हामी नेपाली हौँ, समयले हामीलाई अलकति थिच्न सक्छ । हामी थिग्रिन सक्छौँ । फेरि त पक्कै पनि उठ्ने छौँ । यो अवश्यम्भावी एउटा शक्ति हामी नेपालीले इतिहासबाटै लिएर आएका छौँ ।
हामीले देखेका छौँ, इतिहासका कैयौँ काला दिन । अँध्यारा पल । कैयौँ उज्याला किरण पनि । यही पुस्तामा हामीले पटक पटक परिवर्तनका कैयौँ लहर देखेका छौँ । भोगेका छौँ । इतिहासका ती पीडाले अझै पनि चिमोटिरहन्छन् । उमङ्ग, उत्साह अनि परिवर्तनका कतिपय लहरले नेपालीका सपना पनि तरङ्गित भएर आएका छन् । गएका छन् । परिवर्तनको बेग सधैँभरि एकनाशको हुँदैन । त्यसको हुरी सधैँ खुसी मात्रै लिएको आएको हुँदैन कहिलेकाहीँ असाध्यै पीडाका चोटहरू पनि दिएर जान्छ । कतिपय शून्यतामा पनि हामीले आशाका घमाइला किरण देखेका थियौँ तर अहिले ? यो भने घोर शून्यताको समय हो । अन्योल, अनिश्चितता अनि अलमलको पल । सङ्क्रमण अनि सङ्कटपूर्ण समय । समयको चोट त हामीले सहनै पर्छ । यसलाई भोग्नै पर्छ ।
२०८२ साल असार २४ गते । नेपाली इतिहासमा एउटा अद्भूत अनि अकल्पनीय पाना थपिएको दिन बन्यो । नेपालको राजनीतिमा यो दिन एउटा यस्तो ऐतिहासिक साक्षी बनेको छ, जहाँ एउटा तन्नेरी पुस्ताले आफ्नो भविष्यका धर्का कोरेका छन् । आवेग, आक्रोश अनि रगतले कोरेका छन् । सपनाका खालभरि रगत भरेर उनीहरूले आफ्नो अनि आगामी कैयौँ पुस्ताका लागि समेत एउटा साहसिक बलिदान दिएका छन् । नयाँ पुस्ताले कोरेको इतिहासको यही सीमारेखाभित्र अब नयाँ नेपालको नक्सा कोरिनु पर्छ । कसैले फेरि नचिथोर्ने गरी । यो त्यही पुस्ता हो, जो इन्टरनेटको दुनियाँमा जन्मियो । अनि एआईले निर्माण गरिरहेको एउटा भर्चुअल संसारमै रमाउन थाल्यो । यो एउटा त्यस्तो ‘भाग्यमानी’ पुस्ता हो, जसले एउटै ठाउँमा बसीबसी सारा संसार सयर गर्न सक्छ । आफ्नो जीवनलाई स्वतन्त्र अनि आत्मसम्मानका साथ बाँच्न खोजिरहेको यो पुस्तालाई त्यही इन्टरनेटको दुनियाँले सारा संसार चिनाइरहेको थियो । यो पुस्ताको स्वतन्त्रतामा एउटा बाधा थियो राजनीतिमा आफ्नो पुस्तैनी विरासत जमाइरहेको त्यो ‘बुढो अनि भ्रष्ट पुस्ता ।’ संसारभरि यो पुस्तालाई विस्थापित गर्न चलिरहेको अभियानलाई इन्टरनेटमा राम्रोसँग पढिरहेको ‘जेनजी’ पुस्तालाई राम्रोसँग थाहा थियो, एक दिन समय पक्कै आउने छ । खास गरी संसारभरिका नयाँ पुस्ताले आफ्नै तरिकाले निर्माण गरेको एउटा भर्चुअल दुनियाँ हो ‘डिस्कर्ड ।’ जहाँ कैयौँ नयाँ नयाँ पुस्ताले भविष्यको जीवनचित्र कोरिरहेको हुन्छ । एउटा खुला भर्चुअल दुनियाँ हो, जहाँ संसारभरिबाट जोडिएका नयाँ पुस्ताले केही वैश्विक मान्यताका पर्खाल भत्काइसकेको छ । त्यसैले यो पुस्ता त अब रोकिनेवालै छैन । न यसका सपनाहरू थामिएलान् । त्यसैले उसले खोज्छ त्यस्तै समानता, अवसरको समान वितरण । सम्मानपूर्वक बाँच्न पाउने अधिकार, अभिभान अनि स्वाभिमान । नेता अनि खास गरी हरेक क्षेत्रका ‘सेलिब्रेटी’ (चाहे ती कलाकार होऊन्, व्यापारी वा अरू क्षेत्रका हस्ती) हरू र तिनका छोराछोरी अनि भाइभतिजाले बिताइरहेको बिलासी जीवनशैली अनि आफ्नो उज्यालो भविष्य छेकिरहेको उनीहरूको भ्रष्ट नेतृत्वमाथि भर्चुअल प्रहार गरिरहेका जेनीजी पुस्ता एकाएक सडकमा निस्कियो । भ्रष्टाचार, बेथिति अनि कुव्यवस्थाविरुद्ध यो पुस्ता सडकमा निस्किएको थियो । यो गणतन्त्र हो । लोकतन्त्र हो । यहाँ हरेकले आफ्नो कुरा राख्न पाउँछ, भन्न पाउँछ, माग्न पाउँछ तर सुन्नेले पटक्कै सुने पो !
भदौ २४ गते यो ८ दशकसम्म जनतामाथि राज गरेका भ्रष्ट नेताहरूको जुन हबिगत भयो, त्यो यसैको परिणाम थियो । आफ्नो उज्यालो भविष्य खोज्दै, त्यसको अधिकार माग्दै सडकमा निस्किएका कलिला जीवनमाथि सरकारले जुन प्रकारको बर्बरता देखायो, अघिल्लो दिन नरसंहार मच्चायो त्यसकै परिणाम थियो, एउटा शासकको त्यो कङ्लकपूर्ण बहिर्गमन । हो, इतिहासमा त्यो पुस्ताको पनि योगदान होला । देशका लागि प्रजातन्त्रका लागि उनी पनि लडेका थिए तर जुन प्रकारले जनताले विश्वास गरेर उनीहरूलाई सत्तामा पु¥याए अनि उनीमा सत्ताको उन्मादबाहेक अरू केही बाँकी रहेन । आफ्नो राजनीतिक विरासतबाहेक उनीहरूले देशलाई कहिल्यै जोगाउन खोजेनन् ।
एउटा शासकको हठ, अविवेक, सनक अनि उन्माद, अहङ्कार र स्वार्थले देशलाई कुन हदसम्म लैजान सक्छ भन्ने इतिहासको एउटा कलङ्कित पात्र भएर कतिले यो परिवर्तनमा निर्दोष कलिला जीवनको रगतको होली खेलेका छन् । सत्ताको उन्माद र अहङ्कार अनि अपरिपक्व सनकका कारण एउटा पात्रले पनि देशलाई यस्तो एउटा अकल्पनीय खाडलमा जाकिदिएको छ कि जसले क्षणभरमै देश आधा खरानी भइसकेको स्थिति छ । त्यसको परिणाम अहिले देशले भोगिरहेको छ । आफ्नो व्यक्तिगत अनि राजनीतिक जिन्दगीलाई मात्रै यिनीहरूले बर्बाद गरेका छैनन्, बरु यो पुस्ता र सिङ्गो देशको भविष्यलाई दशकौँ पर धकेलिदिएका छन् ।
लोकतन्त्रले जन्माएका यस्ता ताना शाहहरूको पतन यसै गरी नै भएको छ, जसरी हुनुपर्ने थिएन । समयको बेगलाई न उनीहरूले बुझ्न सके न समयको बेगमा उनीहरू थामिन सके । विरासतको यो राजनीतिक युग अब क्षणमै सकिएको छ । यो परिवर्तनको गति हो, एउटाको अस्तपछि अर्को नवोदय अवश्यम्भावी छ । यसको सजाय अझै कैयौँले भोग्नैपर्ने छ । अझ कैयौँ मतियार छन्, यस्ता भ्रष्ट अनि अविवेकी राजनीति र राजनीतिज्ञका कैयौँ अझ अवशेषहरू छन्, नयाँ पुस्ताले त्यसलाई पक्कै सजाय दिने नै छ । एउटा अविवेकी शासकको दम्भ र अहङ्कारले सडकमा जसरी ७२ भन्दा बढी निर्दोष अनि कलिला ज्यान मासिएका छन्, रगतको त्यही शक्ति हो, जसका अघि दुई ठुला दलले मिलेर बनाएको सरकार २४ घण्टासम्म पनि टिक्न सकेन ।
त्यस पछि जे भयो त्यसले धेरै नेपालीको मन सधैँ पोलिरहने छ । आगोमा दन्किएर सकिएको सिंहदरबारका अवशेषहरू अझै पुत्ताइरहने छन्, त्यो कालो इतिहासमा खरानी बनेर । सिंहदरबार मात्रै एक्लै जलिरहेको छैन बरु त्यससँगै सिङ्गो देशको पहिचान अनि इतिहास पनि खरानी भइरहेको छ । पुत्ताइरहेको सर्वोच्च अनि अरू अदालतसँगै देशको न्यायिक इतिहास अनि त्यसका कैयौँ बाटा पनि धमिलिएका छन् । यस्ता कति छन् कति । जो जलेका छन्, जलिरहेका छन् । जसरी यो भयावह, भताभुङ्ग अनि भयानकताको साक्षी बनेर जेनजी पुस्ताले परिस्थिति समाल्ने प्रयास गरिरहेको छ, अब तत्काल र अहिलेबाटै देशको पुनर्निमाणका लागि पनि यो पुस्ताले आफ्नो शक्ति देखाओस् ।
यो पुस्ताले बुझ्नु पर्छ, इतिहास पढ्नु पर्छ । अनि आफ्नोभन्दा धेरै यो देशको अनि आफ्नो र भावी पुस्ताको भविष्यका लागि ऊ अझ चनाखो हुनु पर्छ । हामीले भ्रष्टाचार र बेथितिका केही पहाड ढालिसकेका छौँ । अझ कैयौँ भ्रष्टाचारका अग्ला पहाड फोड्नै बाँकी छ । शून्यबाट उठ्नु भनेकै आफैँमा एउटा नयाँ सुरुवात हो । खरानी टक्टक्याएर उठ्नु भनेकै फेरि नयाँ निर्माणको गतिमा सामेल हुनु हो । अब हाम्रो लोकतन्त्र, राष्ट्रियता र स्वाभिमानलाई ढल्न नदेऔँ । यो देशको संविधानमा हाम्रा कैयौँ पुस्ताको रगतले लेखिएका इतिहास छन् । यो देशको पहिचानलाई बिथोलिन नदेऔँ । यो शून्यतालाई चिर्नु नै छ । अनि यो देश बनाउन नयाँ पुस्ताको नयाँ पाइलासँगै एउटा बलियो सङ्कल्प गरौँ ।