• २ असोज २०८२, बिहिबार

सात शव पहिचान गर्न कठिन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २ गते । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँको चुच्चेपाटीको भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा फेलापरेका शवको पहिचान हुन सकेको छैन । भाटभटेनीमा आगो लागेपछि सरसफाइ गर्ने क्रममा फेलापरेका सात कङ्कालसहितको शव पहिचान हुन नसकेको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले ती शव पहिचान गर्नै नसकिएको जानकारी दिनुभयो । “सात शवको हड्डीसहितको कङ्कालमात्रै फेलापरेका छन् । अरू सबैको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइसकिएको छ । सात शव जलेर चिनिने अवस्थामा छैनन्,” उहाँले भन्नुभयो, “अहिलेसम्म परिवारका सदस्य सम्पर्कमा आएका छैनन् । परिवारका सदस्य सम्पर्कमा आएर डिएनए परीक्षण गरेपछि मात्रै पहिचान गर्न सक्ने अवस्था छ । डिएनए प्रोफाइलिङ गरेर राखेका छौँ । परिवारका सदस्यलाई आफ्नो हो भन्ने लागेमा ‘म्याच’ गरेर शव हस्तान्तरण गर्न सकिन्छ ।” मृतक परिवारका सदस्य सम्पर्कमा आएमा डिएनए परीक्षण गरेर शव हस्तान्तरण गर्न धेरै समय नलाग्ने प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनुभयो । 

काठमाडौँ परिसरका प्रमुख विश्व अधिकारीले काठमाडौँ कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको एक जनाको भने पहिचान भएको बताउनुभयो । “त्यहाँ रामेछाप जिल्ला खाँडादेवी–६ का विकास रसाइलीको कङ्काल फेलापरेको छ । अस्थायी ठेगाना ललितपुर च्यासलमा रहेछ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । त्यसपछि मात्रै परिवारलाई शव हस्तान्तरण गरिने छ,” बुधबार मात्रै रसाइलीको शव फेलापरेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनमा कुल ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।