चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोले झोलङ्गे पुलमा क्षति पुर्याएको छ। पछिल्लो केहीयता हुँदै आएको निरन्तरको वर्षाका कारण गएको पहिरोले वडा ४ साँघु र वडा ५ फाकुम्बा जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको हो।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा ४ र ५ को सिमानास्थित याङ्देली खोलामा रहेको झोलुङ्गे पुलमा पहिरोले क्षति गरेको हो। साँघु र फाकुम्बा जोड्ने झोलुङ्गे पुलमा पहिलोले क्षति गरेसँगै अहिले आउजाउ पूर्णरुपमा ठप्प भएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो।
उहाँका अनुसार सो झोलुङ्गे पुलमा पहिराले क्षति गरेपछि साँघु र फाकुम्बा बासिन्दाले वारिपारी आउजाउ गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपने अवस्था आएको छ। साँघुतर्फको भागमा झोलुङ्गे पुलको जिपमा पहिरोले क्षति गरेको स्थानीयले बताएका छन्। झोलुङ्गे पुलसँगै सो पुल हुँदै हिड्ने पैदल मार्गसमेत पहिरोले क्षतिग्रस्त बनाएकाले पनि आउजाउ ठप्प भएको हो।
पहिरोले झोलुङ्गे पुल र पैदल मार्गमा क्षति गरेपछि फाकुम्बावासी बढी प्रभावित भएका छन्। गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा रहेकाले कार्यालयसम्बन्धी सेवा प्राप्त गर्न र अन्य कामका लागि फाकुम्बावासीले साँघु जानुपर्ने हुँदा उनीहरु बढी प्रभावित भएका हुन्। वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा यहाँका बासिन्दाले बढी समय खर्चनुपर्ने अवस्थासँगै सास्ती खेप्नुपरेको छ।
पहिरोले पालिकाभित्रका दर्जनौ ग्रामीण सडकमा क्षति गरेको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो। अध्यक्ष वनेमका अनुसार पहिरोले सडकहरुमा क्षति पु¥याएका कारण हाल यातायात सेवासमेत ठप्प भएको छ। दसैँ तिहारजस्ता चाडपर्व नजिकिएको समयमा सडकहरु अवरुद्ध हुँदा यातायातमा थप असहज हुनेभन्दै स्थानीयवासीले चिन्दा व्यक्त गरेका छन्।
यता गाउँपालिका अध्यक्ष वनेमसहितको टोलीले पहिरोले क्षति गरेको क्षेत्रको मङ्गलबार अनुगमन गरेको छ। अनुगमनका क्रममा अहिले पनि वर्षा निरन्तर भइरहेकाले क्षतिग्रस्त सडकहरु मर्मत गरी यातायात सञ्चालनमा ल्याउने अवस्था नपाइएको अध्यक्ष वनेमको भनाइ छ। वर्षा रोकिएमा भने सम्भव भएसम्म पहिरो पन्साएर सडकहरु खुलाउनेगरी गाउँपालिकाले पहल गर्ने पनि उहाँले बताउनुभयो।
अहिले पनि वर्षा भइरहेकाले थप बाढीपहिरोको जोखिम रहनेभन्दै गाउँपालिकाले सुरक्षित रहन र सतर्कता अपनाउन पालिकावासीलाई आग्रह गरेको छ। ताप्लेजुङमा पछिल्लो डेढ सातायता हरेक दिनजसो वर्षा हुँदै आएको छ। वर्षाका कारण पहिरो जाँदा सिरिजङ्घा गाउँपालिका–१ सिनाम क्षेत्रका सडकमा क्षति गरेको वडाध्यक्ष सिंहबहादुर इवारमले जानकारी दिनुभयो। वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकहरु हिलाम्मे हुँदा यातायात सञ्चालनमा असहजता रहेको यातायात व्यवसायीले बताएका छन्।