काठमाडौँ, असोज १ गते । रियल म्याड्रिड र आर्सनलले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
मङ्गलबार राति भएको खेलमा रियलले मार्सेलाई २–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको रियलले पुनरागमन जित निकालेको हो ।
रियलको जितमा दुवै गोल केलियन एमबाप्पेले गोल गर्नुभयो । एमबाप्पेले २९औँ र ८१औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको हो ।
यसअघि मार्सेका टिमोथी वेहाले २२औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । रियल ७२औँ मिनटमा १० खेलाडीमा समेटिएको थियो । डानी कार्भाहालले विपक्षी गोलरक्षकसँग झगडा गरेपछि रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो ।
यस्तै अर्को खेलमा आर्सनलले एथलेटिक क्लबलाई २–० गोलले हराएको छ । आर्सनलको जितमा गार्बियल मार्टिनेलीले ७२औँ र लियान्द्रो ट्रोसार्डले ८७औँ मिनेटमा गोल गर्नुभयो ।
अन्य खेलमा टोट्टनहामले भिल्लारियललाई १–०, काराबागले बेन्फिकालाई ३–२ र युनियन सेन्ट–गिलोइजले पिएसभी आइन्डोभनलाई ३–१ गोलले हरायो । युभेन्ट्स र बोरुसिया डर्टमुन्डले ४–४ गोलको बराबरी खेलेको छ । एजेन्सी