• १ असोज २०८२, बुधबार

पहिरोले लोकमार्ग र बेँसीसहर-चामे सडक अवरुद्ध

blog

मध्यनेपाल–९, बिमिरेभन्ज्याङमा खसेको पहिरो र अवरुद्ध सडक ।

नवीनराज कुइँकेल

लमजुङ, असोज १ गते । पहिरोले लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडकखण्ड र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा दुई सडक अवरुद्ध भएका हुन् । मध्यनेपाल नगरपालिका–९, बिमिरेभन्ज्याङमा ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सोमबारपनि अवरुद्ध बनेको सो सडक मङ्गलबार सुचारु भएको थियो । पहिरोले पुनः बुधबार अवरुद्ध भएको छ । 

लेदो र चट्टानसहितको ठुलो पहिरो खसेपछि आवतजावत गर्न समेत नमिलेको स्थानीयले बताएका छन् । अहिलेपनि लेदो झरीरहेकाले यातायात सञ्चालन बन्द भएको छ । स्थानीय सुरज गुरुङका अनुसार पहिरोले लमजुङबाट पोखरा जाँदै गरेका र पोखराबाट लमजुङतर्फ आउँदै गरेका सवारी साधनहरू रोकिएका छन् । 

यसैगरी मर्स्याङ्दी गाउँपालिका–४, वङकरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध बनेको छ । बुधबार बिहानैदेखि सडक अबरुद्ध हुँदा मनाङ जाने र मनाङबाट लमजुङ आउने सवारी साधन अवरुद्ध भएका छन् । वर्षा नरोकिएकाले सडक खुलाउन कठिनाई भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार शाह तेलीले पहिरो हटाएर सडक खुलाउनका लागि पहल भइरहेको बताउनुभयो । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना र मध्यपहाडी लोकमार्ग सडक आयोजनासँग समन्वय गरेर सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।