नवीनराज कुइँकेल
लमजुङ, असोज १ गते । लमजुङमा डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न भागमा डेङ्गु सङ्क्रमितहरू बढ्दै गएका हुन् ।
बेसीसहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी उपचारका लागि आउनेको सङ्ख्या बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा साउन र भदौ महिनामा मात्रै ९३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । बसोवासका आधारमा प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै बेसीसहरमा डेङ्गु सङ्क्रमित देखिएका छन् ।
दुई महिनाको अवधिमा बेसीसहरका मात्रै ३० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालय प्रमुख प्रविण खनालले जानकारी दिनुभयो । सोबाहेक जिल्लाको राइनास नगरपालिकामा १७ जना, मर्स्याङ्दी गाउँपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा आठ जना, मध्यनेपाल, दुधपोखरी र क्व्होलासोँथारमा एक एक जनामा डेङ्गु सक्रमण देखिएको छ । त्यसैगरी जिल्लाबाहिरका आठ जना पनि डेङ्गु सङ्क्रमण भएर स्वास्थ्य संस्थामा उपचार गर्न आएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
गत आर्थिक वर्षमा मात्रै जिल्लामा पाँच सयभन्दा बढीलाई डेङ्गु सङ्क्रमण भएको थियो । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म मात्रै जिल्लामा पाँच सय २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख खनालले जानकारी दिनुभयो ।
डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि बेँसीसहरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएपनि प्रभावकारी बन्न सकेको छैन् । डेङ्गु सङ्क्रमण रोकथामका लागि लार्भा खोज र नष्ट गर अभियानको सुरुवात गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सङ्क्रममण न्यूनीकरण हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।
डेङ्गु फैलन नदिन लामखुट्टेको प्रजनन् र वृद्धि हुने स्थान वा वस्तुहरू पहिचान गरेर सबै नागरिकहरू जागरुकका साथ लागि पर्ने हो भने न्यूनीकरण गर्न सकिने बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताउनुभयो ।