• १ असोज २०८२, बुधबार

कास्कीका २७ प्रहरी कार्यालयमा क्षति

blog

आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछिको जिल्ला प्रहरी कार्यालय कास्कीको भवन । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी
लेखनाथ, असोज १ गते ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कस्कीको पोखरा महानगरमा रहेका २७ प्रहरी कार्यालयमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको छ । आन्दोलनकारीले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीसमेत नियन्त्रणमा लिएर आगजनी र तोडफोड गरेका थिए ।

सोही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, प्रहरी चौकी छोरेपाटन, प्रहरी चौकी बगर, गगनगौंडा प्रहरी चौकीसहित बिट र आइलेनहरुसमेत तोडफोड र आगजनी गरेका थिए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले प्रहरी कार्यालयमा प्रहरीहरु ड्युटीमा गइसकेको जानकारी दिनुभयो ।

“पुनःस्थापित हुने क्रममा छौँ, अहिले सबै कार्यालयमा प्रहरीहरु पुगिसकेका छन्,” उहाँले भन्नुभयो, “सँगसँगै हामीले कार्यालयहरु निर्माण पनि सुरु गरेका छौँ । स्थानीयले सहयोग पनि गरिरहनुभएको छ ।” पालिकाहरुमा रहेका प्रहरी चौकीहरु भने सुरक्षित गरे ।

पोखरा महानगरमै रहेका वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार र इलाका प्रहरी कार्यालय शिशुवामा कुनै क्षति भएको छैन । आन्दोलनका क्रममा ३५ प्रहरी घाइते भएको जनाउँदै प्रहरी उपरीक्षक ओलियाले सबै उपचारपछि डिस्चार्ज भइसकेको सुनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीसहितका कार्यालयको हिरासतबाट भदौ २४ गते ६१ थुनुवा निस्केका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले मङ्गलबारसम्म कुनै थुनुवा पनि हिरासतमा नरहेको उल्लेख गर्नुभयो । “अहिले हिरासत खाली छन्, राख्न सक्ने अवस्था भइसकेको छैन,” उहाँले भन्नुभयो, “केही सम्पर्कमा आउनुभएको छ, अब उतै फाइल पठाएर अदालत आउन भन्छौँ ।”

आन्दोलनका क्रममा कास्की प्रहरीका चार वटा चार पाङ्ग्रे गाडी जलेका छन् भने केही मोटरसाइकल पनि जलेका छन् । कास्की प्रहरी प्रमुख ओलियाले केही हतियार समेत हराएको जानकारी दिँदै ती हतियारको खोजी भइरहेको उल्लेख गर्नुभयो ।