• १ असोज २०८२, बुधबार

ज्योतिनगरमा फेरि पहिरोको जोखिम

blog

बुटवल समाचारदाता   

बुटवल, असोज १ गते । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्रमा चुरे पहाडमाथिबाट लेदोसहितको ढुङ्गा खस्दा स्थानीय चिन्तित बनेका छन् । 

केही दिनदेखि उक्त क्षेत्रमा ठुलो पानी पर्दा चुरेमाथिबाट लेदोसहित ढुङ्गा खस्न थालेको छ, जसका कारण पहिरो बस्तीसम्मै आउने चिन्तामा स्थानीय ज्योतिनगर क्षेत्रका बासिन्दा रातिमा निदाउन समेत नसकेको बताएका छन् ।    

बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकालले ठुलो पानी परेको बेला लेदोसहित चुरेमाथिबाट ढुङ्गा खस्ने गरेको भए पनि अहिलेसम्म घरमा क्षति नगरेको बताउनुभयो ।  

उहाँले ज्योतिनगर क्षेत्रमा पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो । ज्योतिनगरका स्थानीय लक्ष्मी पाण्डेले ज्योतिनगरको पहिरोले धेरै वर्षदेखि झस्काउँदै आएकाले आफूहरू पानी पर्दा रातिमा निदाउन नसकेको बताउनुभयो । बुटवलका लागि ज्योतिनगर पहिरो विगत २६ वर्षदेखि अभिशाप बन्दै आएको छ । २०५५ साल भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलोपटक पहिरो गएको थियो । 

चार वर्षअघि २०७८ सालमा पनि ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो । त्यस यताको करिब २६ वर्षदेखि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । सङ्घीय सरकारले पहिरो प्रभावित मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणका लागि तारजाली जलाएको छ ।  यो वर्ष मात्रै उक्त क्षेत्रमा सङ्घीय सरकारको करिब तीन करोड रुपियाँ बजेटमा चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि चेकड्याम, रिटेनिङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माणको काम सम्पन्न भएको छ । 

बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । 

बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले सङ्घीय सरकारको पहलमा पहिरो नियन्त्रणका तारजालीले तटबन्ध गरे पनि ठुलो पानी पर्दा तटबन्ध नाघेर लेदोसहित ढुङ्गा खसेकाले तटबन्धमा केही क्षति पुगेको बताउनुभयो । 

बुटवल उपमहानगरले गत वर्ष पनि ग्याबिन जाली लगाउने, खोल्सा सफा गर्ने, पानीको बहाबलाई व्यवस्थित गर्ने जस्ता काम गरेको थियो । संयोजक खड्काले पहिरोबाट सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले डोजर तथा एक्साभेटर तयारी अवस्थामा राखेको बताउनुभयो ।