• १ असोज २०८२, बुधबार

रोकिएको काम नियमित

blog

घोराही समाचारदाता 

घोराही, असोज १ गते । दाङमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कार्यालयले अत्यावश्यक सेवा सुरु गरेका छन् । घोराही उपमहानगरपालिका, जिल्ला अदालत घोराही र उच्च अदालत तुलसीपुरले अत्यावश्यक सेवा दिन सुरु गरेका हुन् ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले तोडफोड र आगजनी भएको कार्यालय मर्मतकै क्रममा रहे पनि नागरिकलाई अत्यावश्यक पर्ने सेवा सोमबारदेखि सुरु गरिएको जानकारी दिनुभएको छ । नियमित रूपमा पूर्ण सेवा दिन समय लाग्ने भन्दै नगरप्रमुख चौधरीले भन्नुभयो, “स्थानीय तह र जनप्रतिनिधिबाट नागरिकलाई दिने सेवामा कुनै समस्या नहोस् भनेर अत्यावश्यक सेवा सुरु गरेका छौँ ।” उपमहानगरपालिकासँगै १९ वटै वडा कार्यालयले पनि अत्यावश्यक सेवा सुरु गरेका छन् । 

नगरप्रमुख चौधरीका अनुसार आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालयसँगै वडा नं. ५, ६, ७, ८, १०, १३, १७ र १८ का कार्यालय पूर्ण रूपमा जलेका छन् । ती कार्यालयबाट नागरिकलाई सेवा दिन कठिनाइ भएकाले सम्भव हुने ठाउँमा मर्मत गर्न र नहुने ठाउँमा भाडामा कार्यालय सञ्चालन गरेर भएपनि नागरिकलाई सेवा दिने तयारीमा रहेको बताउनुभयो । 

जिल्ला अदालत घोराहीले पनि सोमबारदेखि सेवा सुरु गरेको छ । अदालतका स्रेस्तेदार भूपाल भण्डारीले अदालतले तारिख लिने, पक्राउ अनुमति जारी, मुद्दाको म्याद थपलगायतका सेवा सुरु गरेको जानकारी दिनुभएको छ । उहाँले सर्वोच्च अदालतमै आगलागी भएर सर्भर नै डाउन भएकाले नियमित रूपमा पूर्ण सेवा दिन समय लाग्ने भए पनि तारिक, मुद्दाको म्याद थप, पक्राउ अनुमति जारी, मोबाइलको कल डिटेल लिनका लागि प्रहरीलाई आवश्यक पर्ने अनुमतिलगायतका सेवा दिन सुरु गरिएको बताउनुभयो । 

तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको मर्मत गर्दै कार्यालय सञ्चालन गरिएको भन्दै अदालतका स्रेस्तेदार भण्डारीले भन्नुभयो, “पूर्ण रूपमा सेवा दिन समय लाग्ने भए पनि आकस्मिक सेवा दिन थालेका छौँ ।” उहाँका अनुसार अदालतका तोडफोड र आगजनीका क्रममा दुई करोड बराबरको क्षति भएको छ । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अदालतमा भएका ३७ वटा कम्प्युटर र नगद चार लाख रुपियाँ चोरी भएको थियो । त्यसै गरी तुलसीपुरमा रहेको उच्च अदालतले आइतबारदेखि नागरिकलाई सेवा दिन सुरु गरेको थियो । आन्दोलनका क्रममा भदौ २४ गते जिल्लामा २३ बढी सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।