तानसेन समाचारदाता
तानसेन, असोज १ गते । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको इन्भर्ट र लाइनिङ बनाउने काम सकिएको छ । मुख्य सुरुङमार्गको एक हजार ८९ मिटर सुरुङमा लाइनिङ र इन्भर्ट बनाउने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयले जनाएको छ ।
सात महिनाअघि मुख्य सुरुङमार्ग छिचोलिएपछि सुरुङभित्र इन्भर्ट र लाइनिङको काम सुरु भएको थियो । आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सात महिनामा मुख्य सुरुङको लाइनिङ र इन्भर्ट बनाउने काम सकिएको जानकारी दिनुभयो । इन्भर्ट र लाइनिङ काम एकैसाथ सुरु गरिएको थियो ।
मुख्य सुरुङभित्रको लाइनिङ र इन्भर्टको काम सकिएपछि तीन वटा बाइपास ढोकामा काम भइरहेको छ । आयोजना प्रमुख अधिकारीले तीन वटा बाइबास ढोकाको कुल लम्बाइ ४४२ मिटरमा लाइनिङ र इन्भर्ट बनाउने काम भइरहेको बताउनुभयो । कार्यालयका अनुसार हालसम्म पहिलो बाइपास ढोकाको १५१ मिटरमा लाइनिङ र इन्भर्टको काम अन्तिम चरणमा पुगेको छ । यस्तै दोस्रो बाइपास ढोकाको १६१ मिटरमा ५० प्रतिशत काम भएको छ भने तेस्रो बाइपास ढोकाको १३० मिटरमा लाइनिङ र इन्भर्ट बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
सिद्धबाबा सुरुङमार्गको मुख्य काममध्ये मुख्य सुरुङसहित तीन वटै बाइपास ढोका छिचोल्ने, लाइनिङ गर्ने र सुरुङबाहिरको पहाड सुरक्षित बनाउने रहेको छ । सुरुङको मुख्य सुरुङ र तीन वटा बाइपास ढोका छिचोल्ने काम सकिएपछि लाइनिङ र इन्भर्टको काम पनि सकिएको छ । आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले तीन वटा बाइपास ढोकाको लाइनिङ र इन्भर्टको काम सकिएपछि मुख्य काम सकिने बताउनुभयो ।
उहाँका अनुसार सुरुङमार्गको हालसम्म ६१ प्रतिशत भौतिक प्रगति र ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको उत्तर र दक्षिणतर्फको असुरक्षित पहाडलाई सुरक्षित (प्रोटेक्सन) को कामले भने गति लिन नसकेको आयोजनाले जनाएको छ । चार महिनाअघिदेखि नै बर्सात सुरुपछि बाहिरपट्टिको भागमा काम गर्न नसकेको बताइएको छ ।
आयोजनाले तिनाउ नदीबाट सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरक्षित पर्खाल उठाउने काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । पाँच वर्षभित्र काम सक्ने गरी सरकारले विसं २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनलाई सुरुङमार्ग निर्माण गर्ने जिम्मा दिइएको थियो । सुरुङमार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख खर्च हुने सरकारले जनाएको छ । सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कास्कीलगायतका नागरिकले सुरक्षित यात्रा गर्न पाउने विश्वास गरिएको छ ।