• १ असोज २०८२, बुधबार

पुनर्निर्माणमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

blog

धनगढी समाचारदाता

धनगढी, असोज १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । 

आन्दोलनकारीको आगजनीबाट ध्वस्त भएका भौतिक संरचनाको मङ्गलबार अनुगमनपछि उहाँले एकजुट भएर पुनर्निर्माणमा अगाडि बढ्न आग्रह गर्नुभएको हो । यो विषम परिस्थितिमा सबै सरकारी कार्यालयको सेवा छिटोभन्दा छिटो सञ्चालनका लागि आफ्नो संयन्त्रलाई यसअघि नै परिचालन गरेको जनाउँदै उहाँले भन्नुभयो, “अनुगमनका क्रममा पनि सकेसम्म छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छु ।” मुख्यमन्त्री शाहले धेरै कार्यालयमा सेवा प्रवाहको प्रक्रिया अगाडि बढिसकेको र सुरु हुन नसकेका थप सेवा सुचारु गर्ने सन्दर्भमा पनि कार्यालयहरूले तयारी गरिरहेका पाइएको बताउनुभयो । उहाँले आगजनी र तोडफोड भएको संरचना दुई/चार दिनभित्रै सरसफाइ गरेर सेवा दिनका लागि आफूले सबै मन्त्री, सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिएको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्रीले प्रदेश संरचना अन्तर्गतका मन्त्रालय, कार्यालय र सङ्घमातहतका २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिका बारेमा जानकारी लिनुभएको छ । उहाँले जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रको काम हुने भएका कारण काम सुचारु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा त्यति धेरै क्षति नभएका कारण आवश्यक सामानको व्यवस्था गरेर काम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । त्यस्तै अनुगमनका क्रममा मुख्यमन्त्री शाहले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई धनगढीबाट दिन नसकिरहेको सेवा टीकापुर इलाका प्रशासन कार्यालयबाट दिन आग्रह गर्नुभयो ।

कारबाहीको माग 

यसैबिच नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते घटेको विभिन्न घटनाका दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । धनगढीमा बसेको कांग्रेस संसदीय दलको बैठकले हत्या, हिंसा, आक्रमण, लुटपाट, आगजनी र सम्पत्तिको तोडफोड तथा नोक्सानीको छानबिन गरी तत्काल दोषीमाथि कडा कानुनी कारबाही गर्न प्रदेश र सङ्घीय सरकारसँग माग गरेको हो । संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले जेनजीले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारीलाई कारबाहीलगायतको उचित मागको सम्बोधनका निम्ति तत्काल पहल गर्न प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गरेको छ ।