बोमलाल गिरी
नवलपुर, असोज १ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । रातभरिको भारी वर्षाका कारण बुधबार बिहान पौने ८ बजेदेखि सडक एकतर्फी सञ्चालन भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।
भारी वर्षा भएका कारण बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै बाटो चिप्लो र खाल्डाखुल्डी भएका कारण पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरु उकालोमा उक्लिन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनहरु भने हालसम्म विस्तारै गुडिरहेको र पानी पर्ने क्रम जारी रहेकाले उच्च जोखिम रहेको नेपालले बताउनुभयो । सडक एकतर्फी हुँदा गाडीहरु लामो जाममा परेका छन् । नवलपुरको जलमापन केन्द्र डण्डाका अनुसार विगत १२ घण्टामा नवलपुरमा १०४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशको पाल्पामा ९१.८ मिलिमिटर वर्षा भएको छ भने नारायणी नदीमा पानीको बहाव उच्च भएपछि ‘हाइ अलर्ट’ जारी गरिएको छ । नवलपरासी पूर्वको जलमापन केन्द्र सेमरीमा विगत १२ घण्टामा १०९.४, पाल्पाको जाल्पामा १२५.४ र नवलपुरको देउरालीमा १२१.२ मिलिमिटर वर्षा भएपछि नारायणीमा ‘हाइ अलर्ट’ जारी गरिएको हो ।