• ८ पुस २०८२, मङ्गलबार

अवैध दोहन रोक्न जुट्यो सहमति, खुल्यो गाउँपालिकाको ताला

blog

रामकृष्ण बोहरा
बागलुङ, असोज १ गते ।
बडिगाड खोलामा भइरहेको अवैध रोक्न र दोहनमा संलग्नलाई कारबाही गर्ने सहमतिपछि बडिगाड गाउँपालिकामा लागेको ताला तीन दिनपछि खुलेको छ । मङ्गलबार पालिका उपाध्यक्ष भिमसेन वन, राजनीतिक दलका प्रतिनिधि र युवाहरु बिचमा भएको छलफलमा सहमति जुटेपछि ताला खोलिएको हो ।

अवैध खोला दोहनमा संलग्न बडिगाड गाउँपालिका– ५ का व्यवसायी प्रदिप खरेलले अवैध रुपमा बालुवा उत्खनन् गरेको स्वीकार गर्दै कानुनबमोजिम जरिवाना तिर्ने र आगामी दिन यस्ता गतिविधि नदोहो¥याउने प्रतिवद्धता जनाएपछि ताला खोलिएको छलफलमा सहभागि युवा सुनिल कार्कीले जानकारी दिनुभयो ।

बडिगाड खोलाको जोगीबगरमा अवैध उत्खनन् गरिएको बालुवाको दुई लाख ५० हजार रुपियाँ जरिवाना स्वरुप पालिकालाई बुझाउने र पालिकाको सिमनाभित्र सङ्कलन गरिएको सबै अवैध बालुवा पालिकाले नियन्त्रणमा लिने छलफलमा सहमति जुटेको छ । ‘‘छलफलमा भएको सहमति कार्यपालिका बैठकमा लैजाने समेत निर्णय भएको छ’’ कार्कीले भन्नुभयो ।

जिल्ला समन्वय समितिसँग सहकार्य गरी अवैध उत्खनन् गरिएको बालुवा निरीक्षण तथा पालिकाको नियन्त्रणमा रहने र पालिकालाई जरिवाना तिर्ने लगायतका विषय छलफलमा सहमति जुटेपछि ताला खोलिएको पालिका उपाध्यक्ष भिमसेन बनले बताउनुभयो । ताला खुलेसँगै पालिकाले आफ्ना नियमित सेवालाई सूचारु गरेको छ ।