हुम्ला समाचारदाता
हुम्ला, असोज १ गते । देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एकप्रकारको नृत्यप्रधान गीत हो । यस नृत्यलाई देउडा खेल अथवा न्याउले खेल पनि भनिन्छ ।
यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिने र स्थानीय भाषिकामा सृजित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव जमाएको हुम्लाका देउडा कलाकार भानुभक्त जैसीले बताउनुभयो ।
मान्छेको जीवनमा आउने सुखदुःखका अनुभूति र मिलनविछोडको पक्षलाई देउडाले सङ्केत गर्ने उहाँको भनाइ छ । राष्ट्रियस्तरमा पनि यो भाका निकै चर्चाको विषय बन्ने गरेको छ । रैथाने बस्ती नभएको ठाउँ कैलाली, बर्दिया, बाँके, सुर्खेतलगायतका जिल्लामा देउडा गीतले प्रभाव जमाएको पाइन्छ ।
देउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दसैँ, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह आदिमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाई प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको उहाँको भनाइ छ । संस्कृत भाषाको देउँदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको हो भन्ने पनि भनाइ छ । देउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षलाई उजागर गरिएको हुन्छ ।
देउडा गीतको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान गरिएको अर्का देउडा गीतका कलाकार कालीबहादुर भण्डारीले बताउनुभयो । कतिपय ठाउँमा देउडा गीत गाउन लाज मान्ने चलन पनि थियो । सो अवस्थामा देउडाबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बिच सवालजवाफ चल्ने गर्दथ्यो । देउडा गीत एक प्रकारको भाषा हो । यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्रायः यसका गीत खस भाषामा आधारित हुन्छन् । खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिँजालाई मानिएको छ ।