साहारा लिम्बू
फुङलिङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।
हालसम्ममा करिब सात वटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार उडान तालिका रहेपनि मौसमका कारण उडान सफल हुन सकिरहेको छैन । काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरे पनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बिचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाइ छ । दुई महिनाको अवधिमा तीन पटक जहाज बिचबाटै पुनः काठमाडौँ नै फर्किएको बताइएको छ ।
काठमाडौँबाट उडान हुनुपूर्व मौसम सफा नै हुने तर आइपुग्ने समयमा मौसम प्रभावित हुने भएकाले बीचबाटै जहाज फर्काउन बाध्य भएको स्टेसनले जनाएको छ । आगामी तालिका शुक्रबारका लागि रहेको छ । टिकट लिएर घण्टौँसम्म पर्खिएर बसेका यात्रु जहाज अवतरण नहुने भएपछि पुनः घर फर्कन बाध्य हुने गरेका छन् ।
धेरै समय अगाडिदेखि हवाई उडान हुन नसक्दा विशेष गरी वृद्धवृद्धा तथा बिरामी लामो दूरीको सडकमार्फत गाडीमा यात्रा गर्न बाध्य भएका छन् । लामो समयसम्म एकै ठाउँमा बसिरहन स्वास्थ्यले साथ नदिएका बिरामी तथा वृद्धवृद्धा प्रभावित हुने गरेका छन् ।