गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १ गते । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका व्यावसायिक प्रतिष्ठान तथा कार्यालयको स्थलगत अनुगमन गरी पीडामा सरकारको साथ रहेको जनाउनुभएको छ ।
मङ्गलबार दिउँसो खनाल भाटभटेनी सुपरमार्केटको कोटेश्वरस्थित आउटलेट, थापाथलीमा रहेका विभिन्न अटो कम्पनीका सोरुम सञ्चारगृहलगायतको अनुगमन गरी सम्बद्ध व्यवसायीसँग छलफलसमेत गर्नुभएको छ ।
अर्थमन्त्री खनालले व्यवसायीले भोग्नु परेको क्षति र त्यसको भरणपूरणका विषयमा छलफल गर्नुभएको थियो । अर्थ सचिव घनश्याम उपाध्यायसहित पुग्नुभएका मन्त्री खनालले व्यवसायीलाई पुरानै लयमा फर्कन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उहाँले क्षतिको यकिन विवरण तयार गरी बिमादाबी प्रव्रिmया पनि थाल्न उहाँहरूलाई आग्रह गर्नुभयो । उहाँले बिमाबापतको रकम पनि सहज र छिटो प्राप्त गर्ने काममा आवश्यक सहजीकरण गरिने आश्वासन दिनुभएको थियो ।
मन्त्री खनालले विपत्को यस्तो समयमा उच्च मनोबल र हिम्मत राखेको भन्दै प्रभावित व्यवसायीको प्रशंसा गर्दै आगामी दिनमा सरकार निजी क्षेत्रको पीडामा मलम लगाउन तयार रहेको बताउनुभएको थियो ।
भदौ २४ गतेको आगजनीमा थापाथलीमा रहेका सिजी, महिन्द्रा टाटा सुजुकीलगायतका सवारीसाधनको सोरुममा आगजनी भएको थियो । त्यस्तै भाटभाटेनी सुपरमार्केटका कोटेश्वर, नक्साललगायत देशभरका १२ आउटलेटमा आगजनी गरेर ध्वस्त पारिएको छ भने नौ वटामा तोडफोड तथा लुटपाट भएको थियो ।
त्यस्तै चौधरी समूह अन्तर्गत सतुङ्गलमा रहेको सिजी डिजिटल पार्कमा पनि आगजनी गरी ध्वस्त पारिएको छ । राजधानीको हिल्टन होटेलसहित देशभरका विभिन्न सहरी क्षेत्रमा रहेका होटेल तथा अन्य व्यवसाय कलकारखानामा पनि क्षति आगजनी लुटपाट तथा तोडफोड भएको छ ।