• ८ पुस २०८२, मङ्गलबार

निजी क्षेत्र सहयोगी एकीकृत व्यवसाय उत्थान योजना ल्याइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ भएको क्षति बेहोरेका निजी क्षेत्रको सहायताका लागि सरकारले एकीकृत व्यवसाय उत्थान योजना ल्याउने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा गर्नुभएको छलफलमा कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको पनि जानकारी गराउनुभएको छ । 

अर्थ मन्त्रालयका अनुसार उहाँले सार्वजनिक सेवा प्रदान गर्ने विन्दुबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नका लागि सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभएको छ । सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको जानकारीसमेत उहाँले गराउनुभयो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर्स एन्ड कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी तथा भाटभटेनी ग्रुपका उद्योग व्यवसायीको सहभागिता थियो । 

छलफलमा सहभागी व्यवसायीले उद्योग व्यवसायको सुरक्षा, उद्योग व्यवसाय प्रवर्धन तथा लगानी प्रोत्साहनका लागि नेपाल सरकारले विश्वस्त तुल्याउन अनुरोध गर्नुभएको थियो । 

प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिका सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बिमा रकम यथाशीघ्र भुक्तानी हुने व्यवस्थालगायतमा नेपाल सरकारले यथाशीघ्र निर्णय गर्नुपर्ने माग राख्नुभएको थियो ।

अन्तव्रिर्mयामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने जानकारी गराउनुभयो । 

“हामी आफैँले पनि क्षति बेहोरेका छौँ,” ढकालले भन्नुभयो, “हामी पनि उठ्दै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न हामी तयार छौँ ।” उहाँले अर्थतन्त्र पुनस्र्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबिच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वाससाथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चित गर्न, राजस्व बुझाउने समय थपेर जरिबाना र दण्ड हटाउने व्यवस्था गर्न सुझाव दिनुभयो । 

महासङ्घले सोमबार २५ गतेसम्म बुझाउनुपर्ने राजस्व विवरणको समय थपको माग गरेको थियो । सोही अनुसार अर्थमन्त्रीस्तरीय निर्णय अनुसार एक महिना अवधि पनि थपिएको छ । 

यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले व्यवसायीको आत्मविश्वास दरो बनाउँदै पुनरुत्थानमा जुट्नुपर्ने र त्यसका लागि आफूहरू तयार रहेको बताउनुभयो ।  

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो क्षेत्रमा ठुलो क्षति भए पनि सबै मिलेर पुनरुत्थानको काम गर्नुपर्ने बताउनुभयो ।