• ३१ भदौ २०८२, मङ्गलबार

सोह्रश्राद्धमा सुनसान कागबेनी

blog

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनी क्षेत्र । तस्बिर हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), भदौ ३१ गते ।
सोह्रश्राद्ध सुरू भएसँगै पितृतर्पण गर्न दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू आउने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनी अहिले सुनसान छ । जेनजी आन्दोलन र बेनी–जोमसोम–कोरला सडकखण्डमा खसेको पहिरोका कारण अहिले दैनिक न्यून सङ्ख्यामा भक्तजन कागबेनीमा देखिन्छन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पणका लागि कोरोनाकालपछि अहिलेसम्मकै न्यून रहेको मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम गुरू प्रताप आचार्यले बताउनुभयो ।

आचार्य भन्नुहुन्छ, ‘‘दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने कागबेनी अहिले सुनसान छ, हामी पनि फुर्सदिला भएका छौँ ।’’ सोह्रश्राद्धको अन्तिम दिन अर्थात् असोज ५ गते पर्ने औँसीका दिनमा भक्तजन आउने अनुमानसहित कागबेनी क्षेत्रमा आवश्यक तयारी गरिएको छ ।  


दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि नेपालका साथै छिमेकी भारतबाट समेत हिन्दु धर्मालम्बीहरू आउने गरेकोमा पछिल्लो आन्दोलनपछि देशभरको अवस्था र बाढीपहिरोले समेत घटेको अनुमान गरिएको वडा अध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । हाल ३०–४० जना मात्रै भक्तजन दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने आएको वडा अध्यक्ष गुरुङको भनाइ छ । शालग्राम शिलाको उद्घमस्थल दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठुलो फल मिल्ने र दिवङ्गत पितृको उद्धार हुने विश्वास छ । बडादशैँ औँसी तिथिमा कागबेनीमा पुग्न नसक्नेहरू चैते दशैँ औँसीमा पुग्ने र अन्य समयमा समेत दिवङ्गत पितृको सम्झनामा तर्पण दिने गरिन्छ ।

विष्णु भगवानको दर्शन, मूर्तिलाई पूजाआजा, १ सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा स्नान गरेपछि कुनैपनि पाप गरेमा नष्ट भइ पुण्य मिल्ने धार्मिक विश्वास छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । सोह्रश्राद्धमा भक्तजन नआएपछि होटलहरूमा समेत चहलपहल कम रहेको छ ।