• ३० भदौ २०८२, सोमबार

पुनर्निर्माणमा जुट्न कांग्रेस संसदीय दलको अपिल

blog

कांग्रेस संसदीय दल। तस्बिर : फाइल

अविनाश चौधरी

धनगढी, भदौ ३० गते। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ। 

संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको दलको बैठकले पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको हो। कांग्रेस संसदीय दलले जेनजी युवाले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारीलाई कारबाही लगायतको उचित मागको सम्बोधनका निम्ति तत्काल पहल गर्न प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरेको छ। 

संसदीय दलले लोकतन्त्रका लागि जीवनभर अविचलित रही संघर्ष गर्नु भएको पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृ एवम् निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ। जेनजीको प्रदर्शनमा लोकतन्त्र नचाहने, संविधान विरोधी र नेपाली कांग्रेसलाई कमजोर देखाउन चाहने व्यक्ति, समूहको घुसपैठबाट आक्रमण भएको कांग्रेस संसदीय दलको ठहर छ। सो दलले दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। 

दलको बैठकले भदौ २३ र २४ गते देशको विभिन्न स्थानमा भएको हत्या, हिंसा, आक्रमण लुटपाट, आगजनी र सम्पत्तिको तोडफाड तथा नोक्सानीको छानबिन गरी तत्काल दोषीमाथि कडा कानुनी कारबाही गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ। 

कांग्रेस संसदीय दलले जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका देशका होनहार युवा, नागरिक तथा प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेक छ।