सिराज खान
नेपालगन्ज, भदौ ३० गते । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज उपमहानगरपालिकालाई प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न ताकेता गरेको छ ।
उपमहानगरपालिकालाई बिमामा आवद्ध भएका बिरामीलाई स्वास्थ्य सेवा दिन बोर्डले पटकपटक ताकेता गर्दै आए पनि अहिलेसम्म सेवा विस्तार भने हुन सकेको छैन । पछिल्लो पटक बोर्डले केही दिन अघि पत्र लेख्दै स्थानीय नागरिकलाई स्वास्थ्य बिमाको सुविधा दिन प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न नेपालगन्ज उपमहानगरलाई ताकेता पत्र पठाएको हो ।
भेरी अस्पताललाई तीन महिनाका लागि तोकिएको प्रथम सेवा विन्दुको समय सकिनै लाग्दा बोर्डले पुनः नेपालगन्ज उपमहानगरपालिकालाई सेवा विस्तार गर्न ताकेता गरेको जनाइएको छ । भेरी अस्पतालले आगामी कात्तिक १ गतेदेखि प्रेषण केन्द्रका रुपमा मात्रै सेवा दिने छ ।
स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई प्रेषण अस्पतालका रुपमा मात्रै सेवा दिन परिपत्र गरेको छ । यी अस्पतालहरुले बिमामा आवद्ध भएका रिफर गरिएका बिरामीहरुलाई मात्रै उपचार सेवा प्रवाह गर्नेछन् ।
बिमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रुपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ । बिमित बिरामीहरुले पहिलो चरणमा प्रथम सेवा विन्दुबाट सेवा लिनु पर्नेछ ।
प्रथम सेवा विन्दुबाट रिफर भएका बिरामीहरुले मात्र प्रेषण केन्द्रका रुपमा रहेका अस्पताल मध्ये जुनसुकैबाट पनि सेवा लिन पाउने छन् । तर नेपालगन्ज उपमहानगरपालिकामा प्रथम सेवा विन्दु नभएकाले बोर्डले तत्काल तीन महिनाका लागि भेरी अस्पताललाई प्रथम सेवा विन्दुकै रुपमा सेवा दिन पत्र पठाएको थियो ।
सङ्घीय अस्पताल, विशिष्टिकृत अस्पताल, प्रतिष्ठानहरुमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु राख्न कानूनी तथा सिद्धान्ततः वैज्ञानिक नहुने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई आधारभूत अस्पताल, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा चिकित्सक दरवन्दी स्वीकृत भएको नगर शहरी प्रवर्धन केन्द्रबाट स्वास्थ्य बिमा सेवा विस्तार गर्न बोर्डले ताकेता गरेको छ ।
भेरी अस्पतालले प्रेषण गरिएका बिरामीमात्रै हेर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकाले प्रथम सेवा विन्दु विस्तार नगरे नगरबासीले स्वास्थ्य बिमा सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।