• २९ भदौ २०८२, आइतबार

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

blog

घटनास्थलमा जम्मा भएका स्थानीयवासी र सुरक्षाकर्मीहरू ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) भदौ २९ गते । बर्दियाको गुलरिया नगरपालिका वडा १२ टडुवामा रहेको नेपाल केदुवाई सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणमा परी सोही ठाउँ निवासी २८ वर्षीया कविता तामाङको मृत्यु भएको हो । 

घर नजिकैको जङ्गलमा घाँस काट्न जाने क्रममा तामाङलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमण गरेपश्चात् सँगै गएका साथीहरूले स्थानीयवासीलाई खबर गरेका थिए । स्थानीयवासीले हो हल्ला गरेर तामाङलाई छुटाएका थिए । तामाङलाई चितुवाले छोडेर भागे पनि उहाँको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो।

उहाँले बिहानै जङ्गलमा चार जनाको समूहमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गरेको बताउनुभयो । मृतक महिलाको घरमा तीन वर्षको बच्चा रहेको स्थानीयबासीले बताएका छन् । पटकपटक चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गत साउन ३१ गते सो स्थानबाट नजिक रहेको गुलरिया नगरपालिका वडा ११ भैँसाहीमा चितुवाले आक्रमण गदा ४५ वर्षीया जगतरानी थारूको मृत्यु भएको थियो । 

चितुवा नियन्त्रणका लागि स्थानीवासीले माग गरेका छन् । एक महिनाको अन्तरालमा नजिकै दुई जनाको मृत्यु हुँदा पनि सम्बन्धित निकायले चितुवा नियन्त्रणमा लिन नसकेको गुलरिया नगरपालिका वडा १२ सूर्यगौडीका साबिर अलि गद्दीले बताउनुभयो । 

एक महिना अघिदेखि चितुवा नियन्त्रणका लागि क्यामेरा र चार वटा पासो राखिएको सूचना अधिकारी चाैधरीले बताउनुभयो । उहाँले चितुवा नियन्त्रणका लागि लगातार प्रयास गरे पनि पासोमा चितुवा नपरेको बताउनुभयो । घटनापछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको उहाँले बताउनुभयो।