• २९ भदौ २०८२, आइतबार

स्थानीय तह र विद्यालय खुले

blog

हाङ्पाङस्थित आठराई त्रिवेणी गाउँपालिकाको कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २९ गते । जेनजी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि बन्द गरिएका ताप्लेजुङका स्थानीय तह र विद्यालय खुलेका छन् । जिल्लाका केही स्थानीय तहले बन्द गरेको सेवा प्रवाह आइतबारदेखि सुरु गरेका छन् भने बन्द भएका विद्यालयहरू पनि आइतबारदेखि नै खुलेका हुन् ।

गएको मङ्गलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको आठराई त्रिवेणी गाउँपालिकाले आइतबार आजदेखि सबै सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले एक सूचना प्रकाशित गरी गाउँपालिका कार्यालय र मातहतका अन्य सबै कार्यालयका सेवा नियमित भएको उल्लेख गर्नुभएको छ ।

यस्तै गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन पनि आइतबारदेखि सुरु भएको प्रधानद्वारा जारी सूचनामा जनाइएको छ । त्यस्तै सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू पनि आइतबारदेखि खुलेका छन् । 

यता फुङ्लिङ नगरपालिका कार्यालयको सेवा भने अवरुद्ध नै रहेको छ । जेनजी समूहको नाममा मङ्गलबार राति नगरपालिकाको प्रशासकीय भवनमा तोडफोड र आगजनी गरिएपछि सेवा प्रवाह ठप्प भएको छ । नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले तोडफोड र आगजनीका कारण प्रशासकीय भनव तहसनहस भएकाले तत्काल सेवा प्रवाह गर्ने स्थिति नरहेको बताउनुभयो । 

नगरपालिकाको सेवा प्रवाहलाई नियमित गर्ने विकल्पबारे आपसी परामर्श भइरहेको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष न्यौपानेका अनुसार नगरपालिकाका ११ वटा वडा कार्यालयको सेवा प्रवाह भने नियमित रहेको छ । 

यसैगरी देशको विषम परिस्थितिका कारण जिल्ला प्रशासन कार्यालयले गएको बुधबारदेखि लगाएको निषेधाज्ञा र कर्फ्यु पनि शनिबारदेखि हटाएको छ छ । दिउँसो निषेधाज्ञा र राति लगाइँदै आएको कर्फ्यु हटाएपछि जिल्लाको जनजीवन सामान्य बनेको छ । निषेधाज्ञा र कर्फ्यु हटाइएपछि सदरमकाम फुङ्लिङ बजारमा चहलपहल पनि सुरु भएको छ ।