• २८ भदौ २०८२, शनिबार

सामान्य बन्दै हेटौँडा बजारको जनजीवन

blog

सामान्य बन्दै हेटौँडाको जनजीवन । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, भदौ २८ गते । नयाँ सरकार गठन भएसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आम नागरिकको जनजीवन सामान्य बनेको छ । शनिवार बिहानबाट हेटौँडामा जनजीवन सामान्य बन्दै गएको हो । 

सवारी साधन चल्न थालेका छन् भने बजार र पसलहरू आंशिक रूपमा खुलेका छन् । आन्दोलनपछि मकवानपुरमा लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवा पुस्तासहित सम्पूर्ण देशवासीमा खुसीयाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार बिहान सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी दिएको छ । शनिवार बिहानैबाट हेटौँडा बजारमा आम सर्वसाधारणको चहलपहल बढेको थियो भने सवारी साधनहरू गुड्न थालेका थिए । निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै छोटा तथा लामा दूरीका सवारी साधनहरू पनि गुड्न थालेका छन् । 

आन्दोलनको क्रममा प्रदेशको राजधानीमा रहेको करिब तीन दर्जन सरकारी कार्यालय र एक दर्जन निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो । क्षतिको विवरण पूर्णरूपमा आइसकेको छैन भने सरकारी तथा निजी व्यवसायीले क्षति भएको ठाउँमा सरसफाइ सुरु गरेका छन् । यता मकवानपुर प्रहरीले आन्दोलनको क्रममा लुटिएको सामान खोज्न सुरु गरेको छ ।