विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २८ गते । सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ ।
मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा आगजनी हुँदा नगरपालिकाको कार्यालयदेखि सवारी साधनसम्म जलेर नष्ट भएपछि फोहोर सङ्कलन रोक्किँदा यस्तो समस्या उत्पन्न भएको हो ।
प्रदर्शनकारीले गरेको आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनमा रहेका कागजात, फर्निचर र महत्त्वपूर्ण सामानसँगै फोहोर सङ्कलनका लागि प्रयोग हुँदै आएका चार वटा ट्याक्टर र तीन वटा टिपर पनि जलेर नष्ट भएपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको हो ।
आगजनीपछि नगरपालिकाको कार्यालय खुल्ने अवस्थामा नरहे पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने राजविराज वडा नम्बर ७ का सागर साह बताउनुहुन्छ ।
फोहोर उठाउने सवारी साधन नष्ट भएपछि राजविराज बजार सहितका बस्तीहरूमा पाँच दिनदेखि फोहोर थुप्रिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै यसले महामारी फैलिन सक्ने खतरा बढाएको साहले बताउनुभयो ।
सडक, चोक र घर आँगनमा फोहोर जम्दा दुर्गन्ध फैलिएको स्थानीय वसन्त स्वर्णकारलाई डर लागेको छ ।
तत्कालै फोहोर व्यवस्थापनमा नगरिए यसले विभिन्न प्रकारका रोग सङ्क्रमण फैलिन सक्ने खतरा बढेको स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् ।