सिराज खान
नेपालगन्ज, भदौ २८ गते । पश्चिम नेपालकै सबैभन्दा ठुलो भन्सार नाका नेपालगन्ज नाकाबाट शुक्रबारदेखि भन्सार कार्यालयले राजस्व सङ्कलन सुरु गरेको छ ।
जेनजी आन्दोलनका कारण अस्तव्यस्त र प्रभावित बनेको नेपालगन्जसहित बाँके जिल्लाको जनजीवन सामान्य बन्दैगएपछि यहाँस्थित आइसिपीबाट अत्यावश्यक सामग्रीको भन्सार गरेर गाडीहरू नेपालगन्ज पठाउन सुरु गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी पवित्रकुमार खड्काले शुक्रबार पेट्रोलियम पदार्थलगायत तरकारी र खाद्यान्नका ९८ वटा गाडीलाई भन्सार गरेर नेपालगन्जतर्फ पठाइएको बताउनुभयो ।
उहाँले बुधबारनै भन्सार गरेर नेपालगन्ज भित्र्याउन लागेको बेला चारैतिर आगजनी र तोडफोड सुरु भएपछि रोकिएका ३८ वटा पेट्रोलियम पदार्थका गाडीलाई सबैभन्दा पहिले पठाइएको बताउनुभयो ।
ती लगायत आइसिपीमा रहेका सबै गाडीलाई सुरक्षाका लागि बुधबार सीमापारी रुपैडिहाको भारततर्फको आइसिपीमा पठाइएको थियो । अवस्था सामान्य भएपछि झिकाएर भन्सार गरेर नेपालगन्ज पठाउने काम भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो ।
उहाँले पहिलेका ३८ र शुक्रबार ६० वटा गाडी गरेर ९८ वटा गाडीलाई भन्सारको प्रक्रिया पूरा गरेर पठाइएको बताउनुभयो ।
भन्सार गरेर पठाइएका गाडीहरूमा पहिलेका डिजेल र पेट्रोल र हवाई इन्धनका ३४ र ग्यास बुलेट चार गरेर ३८ तथा शुक्रबार भन्सार गरिएका २१ डिजेल, २३ ग्यास बुलेट, ११ पेट्रोल तथा दुई वटा हवाई इन्धनका ट्याङ्करहरू रहेको भन्सार कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा जयसपुरस्थित पुरानो भन्सार कार्यालय तथा जमुनाहा नाका रहेको यात्रु शाखालाई पूर्णरूपमा जलाएर नष्ट पारिएको थियो भने आइसिपीमा भने कुनै क्षति गरिएको थिएन ।
पुरानो भन्सार कार्यालयबाट मुद्दा मामिलाका कामहरू हुने गरेकोमा सबै कागज पत्र र कम्प्युटर तथा लिलामीका लागि राखिएका सयौं सवारी साधन समेत जलाएर नष्ट पारिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।
उहाँले नेपालगन्ज नाकाबाट दैनिक चार करोडदेखि छ करोडसम्म राजस्व सङ्कलन हुने गरेकोमा दुई दिन भन्सार ठप्प हुँदा प्रभावित भएको बताउनुभयो ।