सुधा देव
भारदह(सप्तरी), भदौ २८ गते । तराई मधेशका हिन्दु महिलाहरूको महान पर्व जितियालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबार कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।
जेनजीका कारण जिल्लामा निरन्तर कर्फ्यु जारी हुँदै आएपछि सर्वसाधारणलाई किनमेल गर्न कठिनाइ भएपछि शनिबार बिहान ८ देखि साझ ६ बजेसम्म कर्फ्यु हटाएर निषेधाज्ञा र साझ ६ देखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेर सर्वसाधारणलाई आवतजावत गर्न खुकुलो पारेको हो ।
यस अघि चार दिनदेखि जिल्लामा लगातार लागेको कर्फ्यु का कारण जिल्लाका सर्वसाधारणले खाद्यान्न सामग्री समेत किनमेल गर्न समस्या भोग्दै आएपछि चाँडपर्वलाई ध्यानमा राखेर कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपछि ससाना व्यापारीलाई व्यापार गर्न र उपभोक्तालाई किनमेल गर्न सहज भएको स्थानीय पिङ्की साहले बताउनुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले चाडपर्वमा आवतजावत गर्न र किनमेल गर्न कुनै किसिमले समस्या नहोस् भन्ने उद्देश्यले आज दिनभरि निषेधाज्ञा जारी गरेर सहज बनाएको बताउनुभयो । काम बाहेक अनावश्यक भिडभाड नगरेर सहज वातावरणमा काम गर्न उहाँले सर्वसाधारणसँग आग्रह समेत गर्नुभयो ।
जेनजी’ को नामबाट मङ्गलबार सुरु भएको प्रदर्शनले जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेपछि सोही दिन दिउँसो ३ः३० बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्युको आदेश जारी गरेको थियो ।