प्रायः हतारमा हुन्छौँ हामी । हतार पनि जीवनको सिलसिला हो । हाम्रो जीवनशैली हो । केही समयदेखि म पनि अलिक हतारोमा छु । म मात्रै कहाँ हो र ! हतार हतारमै हुन्छन् मेरा सपना/आकाङ्क्षा/आग्रह/रहर/अपेक्षा/आक्राेश...!
मानिसका जीवनावेग तीव्र हुन्छ । हामीलाई थाहा छ, यहाँ सबै हतारोमा छन् । जीवनका तितीक्षा/मुमुक्षाहरू नदी झैँ गतिवान् छन्वे/गवान् छन् । घाइते मुटु बोकेर हतार हतारमा हिंँडिरहेछन्– प्रेमीप्रेमिकाहरू ! प्रेमको लय पनि हतारमै हुन्छ । आफैंबाट हराएको मन निर्वाध खोजिरहेका हुन्छन्, तन्नेरा तन्नेरीहरू । प्रेमको भावातीत भक्तिको हस्याङफस्याङ पनि हेर्न लायक हुन्छ । जहाँ मनबाट निस्किने सङ्गीतको र्याइँ र्याइँमा पनि आफ्नै सौन्दर्य हुन्छ । हतारमै हुन्छ भेट, प्रायः हतारमै हुन्छ प्रेम । हतार हतारमै हुन्छ प्रणय र हतारमै हुन्छ प्रेमान्त्य ! अहिले त डिजिटल युगमा छौँ हामी । छिनमै भेट, छिनघरीमा प्रेम, छिनमै बिलौना र बिछोड सहनु पर्छ । अल्पकालीन प्रेमको यो हतारो पनि अकल्पनीय नै छ । मिलनको अनमोल लाभ र बिछोडको अप्रिय प्रलाप पनि प्रेमको विशेषता नै हो । प्रेममा– जे हुन्छ हतारमै हुन्छ ।
हेर्छु,
समयको पैताला ।
हरदम हिँडिरहेको छ ।
अविचलित छन्– उसका गति ।
बरू हामी
गतिहीन छौँ– रोकिन्छौँ,
छेकिन्छौँ/अल्झिन्छौँ/बरालिन्छौँ,
भुल्छौँ/भुलभुलैयामा रुमलिन्छौँ ।
तर.....!
सधैँ हतारमै हुन्छ यो छुक छुक गर्ने घडी
निर्बाध छ/अविचल छ र निरन्तर छ– घडीको चाल !
पृथ्वी जस्तो डिब्बालाई निरन्तर फन्को मारिरहेको छ– समय । घडी निरविछिन्न घुमिरहेको छ । निर्बाध घुमिरहेको छ । अविचलित छन्– समयका काँटाहरू । एकपछि अर्को घण्टा छिचोल्दै हतार हतार घुमिरहेको देख्छु अविश्रान्त !
अविश्रान्त !! अविश्रान्त !!!
मानिसको मुटु झैँ सेकेन्ड सेकेन्डमा छक छक गर्दै– समय लेखिरहे छन् सेकेन्ड, मिनेट र घण्टा सुईहरू । सधैंको हतार सधैँको बेफुर्सदी । समयलाई निद्रा छैन । भोक र भोजनको चाह छैन, आराम र मनोरञ्जन छैन । छ त केवल पल पलको महìव । हतार पनि यस्तो होस्, जहाँ सकारात्मक भाव होस् । सिर्जनात्मक सोच होस् । नकारात्मक हतारोले हामी कहीँ पुग्दैनौँ ।
एकपछि अर्को दृश्य हेर्न हतारमा छन्, हाम्रा जोर आँखा ! कुनै पलक स्थिर हुँदैनन् । हेरेर कहिल्यै न थाक्ने यी आँखाहरू सधैँ दृश्यका भोका हुन्छन् । नूतन दृश्यको अपेक्षामा लालायित हुन्छन् । जति नै हेरे पनि आँखाहरू थाक्दैनन् । सधैँ दृश्यका भोका आँखा नयाँ दृश्यपानको हतारमै हुन्छन् ।
नानीलाई जवानी बन्ने
ढुङ्गालाई ईश्वर बन्ने
झुसिलकिरालाई पुतली बन्ने
बीजलाई बोट बन्ने
शून्यलाई महाशून्य बन्ने
सेकेन्डलाई शताब्दी बन्ने
निशालाई उषा बन्ने
हतार छ सबैलाई ।
प्रातः सूर्य–किरणलाई शीतसँग चुम्बन गर्न हतार । जूनलाई रातसँग अङ्कमाल गर्न हतार । रातलाई बिहानसँग खासखुस गर्न हतार । कोपिलालाई फूल बन्ने हतार । रात्रिकालीन गीत गाउँछ्न् चराहरू– रात डाक्न हतार ! दिउँसोको घामसँग खेल्नेहरू जूनसँग खेल्ने हतार । पृथ्वीमा कुन त्यस्तो चिज छ जो हतारमा नहोस् !
युद्ध हतारमा हुन्छ/विनाश हतारमा हुन्छ/विकृति हतारमै हुन्छ/ रिस हतारमा उठ्छ । आवेश र भावावेश हतारमा हुन्छ । त्रासका त्राण पनि हतारमै सुक्छ । प्रज्वलित दियो हुरी हुन्डरीले हतारमै निभ्छ ।
–तपाईं अविछिन्न हतारमा हुनुहुन्छ । म नित्य–निरन्तर हतारमा हुन्छु । उहाँ अविचल हतारमै देखिनुहुन्छ । तपाईं, म र उहाँ मात्रै होइन; यो ब्रह्माण्डका सबै कुरा हतारमा छन् । पृथ्वी सूर्यलाई निरन्तर परिक्रमा गर्न/ग्रहहरू निरन्तर आफ्नो मार्ग घुम्न/नदीहरूलाई समुद्र चुम्न/अस्ताएको घामलाई झुल्किन/झुल्किएको घामलाई अस्ताउन/ताराहरू उज्यालोमा विलीन हुन/उज्यालोलाई रातको पोल्टोमा निदाउन/रात उज्यालोको सान्निध्यमा हराउन हतारमा छ । भान्सामा हेर्छु आमा हतारमा हुनुहुन्छ । मेलापातमा हे¥यो बुहारीलाई हतार छ । घरगृहस्थमा बुबा सधैँ हतारोमा देखिनुहुन्छ । कार्यालयमा कर्मचारी हतारमा हुन्छन् । मठमन्दिर गयो ब्रह्मचारी, साधु र सन्न्यासीहरू हतारमा छन् ।
– हतारमै जन्मिन्छन्– अबोध शिशु ! शैलबाट हतारमै झरिरहेका हुन्छन्– स्रग्धरा नदीहरू ! हतारमै पग्लिन्छन् स्फटिक जस्ता हिमकण ! हतारमै परिवर्तन हुन्छ– देशको सत्ता ।
हरदम हतारमा हुन्छन्– व्यभिचारी/दुराचारी/भ्रष्टाचारी/अत्याचारी/ बलात्कारी/दम्भकारी/अहङ्कारीहरू । प्रकृतिको क्रम पनि हतारमा हुन्छ । ऋतुहरू क्रमशः आइरहन्छन्–गइरहन्छन् । वसन्त ऋतुका पाउलालाई पाउलिन हतार । फूलका कोपिलालाई फव्रिmन हतार । वसन्ती पवनलाई फूलसँग बयेली खेल्न हतार । गृष्म ऋतुलाई प्रचण्ड गर्मी ल्याउन हतार । वर्षा ऋतुलाई दबदबे हिलोसँग खेल्न हतार । शरद ऋतुलाई खर्चालु चाडपर्व ल्याउन हतार । हेमन्तलाई चिसो मुटु कमाउने जाडो भिœयाउन हतार । शिशिर ऋतुलाई गुराँसको रातो रङ बोकेर हिमालसँग प्रीति गाँस्न हतार ।
हामी सबै हतारमै हुन्छौँ ।
हतारमै हामी रोलक्रम भुल्छौँ ।
ज्ञान, मान, सङ्ज्ञानलाई सङ्ज्ञाहीन बनाउँछौँ ।
इमान, जमान, नाम र सुकर्महरू पोल्छौँ ।
निष्ठा, विवेक, नैतिकता र
बनेको स्वाभिमान भत्काउँछौँ ।
थोरैको हतारले सज्जन र भद्रलाई उपद्र भनाउँछौँ । शिष्टलाई अशिष्ट र दुष्टको पगरी गुथाउँछौँ । संस्कारीलाई संस्कारहीन बनाउँछौँं । जे गर्छ हतारोले गर्छ । सबैतिर लतारपतार बनाउँछ । रोलक्रम, मूल्यमान्यता, शिष्टता, सभ्यता सबै क्षणभरमै सिसा झैँ झ¥यामझुरुम पारिदिन्छ ।
एकदिन म धारोमा पानी थाप्दै थिएँ । एउटा शिष्ट मानिस अशिष्ट देखियो । उसले आफू हतारमा भएकाले पानी छिटो छिटो थाप्नुपर्ने जिरह ग¥यो । उसको जिरहमा सबैले मुखामुख गरे । आँखामा आँखा मिलाए । उसले पालो मिचेर पानी थाप्यो । ऊ छिनभरमै सबैको नजरमा संस्कारहीन देखियो । उसले लाइन मिचेर पाइन देखायो । विचराको पाइनलाई फाइन पो कसले गर्ने ? तर ऊ समाजको आँखामा निर्लज्ज देखियो । उसले हतारको बहानामा आफ्नो मान र सम्मान पोल्यो । इज्जत प्रतिष्ठा फाल्यो । सबै जिल्ल परे । मुखामुख गर्दै भन्न थाले, “मूर्खको फेला पर्नुपर्ने अनि थाहा हुन्थ्यो ।”
समय पनि हतारमै छ । हतार कसलाई छैन ! लाइन सभ्यता हो । संस्कार हो । सौन्दर्य हो । शालीनता हो तर अहिले लाइन मिच्नेहरू साँढा हुन्छन् । ठुला हुँ भन्छन् । भुइँमा न भाँडामा हुन्छन् । कहिलेकाहीँ सन्नाटाले पनि नमिठोसँग हिर्काउँछ । निक्कै गहिरो हुन्छ सन्नाटाको घाउ । मन कोपर्छ, मुटु चिथोर्छ, मस्तिष्क छिया छिया बनाउँछ । जीवनको लय भत्काउँछ । सन्नाटा अप्रिय हुन्छ । हामी हतार हतार सन्नाटाबाट उन्मुक्ति खोज्छौँ ।
जीवनमा सन्नाटा पनि कति खतरनाक भएर आउँछ । त्यो भोग्नेहरूलाई मात्रै थाहा हुन्छ, सन्नाटाको रजगज । कति अमिलो बनाउँछ सन्नाटाले जीवन ! म सन्नाटाबाट हमेसा हतार हतार भाग्न चाहन्छु । त्यसैले प्रायः अक्षरहरूसँग हुन्छु । पुस्तकहरूसँग हुन्छु । शब्दहरूसँगै खेल्छु । किताबका पात्रहरू हुन्छन्, मेरा साथी । पुस्तकले मभित्रका सन्नाटाहरू भत्काइदिन्छ । एकान्तिक क्षणहरू बिथोल्न पनि अक्सर अक्षर चाहिन्छ मलाई । मानिसका अनेकौँ आवश्यकताभित्र पर्छन्– पुस्तकहरू ! म पुस्तक प्रेमीहरू मन पराउँछु । पुस्तक पनि अनेकौँ अप्ठ्यारामा साथी भइदिन्छन् । एकान्त भत्काउन हतार हुन्छ मलाई ।
एकान्तको साथी हो पुस्तक । पुस्तक हमेसा साथी हुन्छ मेरो । ग्राउन्ड फ्लोरमा छु म । एक तमास शब्दहरूसँग गट्टा खेलीरहेको छु । चस्माका काँध टेकेर बसेका मेरा निला आँखाहरू छन् । नजिकैको टेबलमाथि तातो कफी छ । कफीबाट ठेलमठेल आकाशतिर उडिरहेछ बाफ ! निर्जीव कफीलाई पनि सेलाउन हतार छ । म हेरिरहेको छु कफीबाट हतार हतार उडिरहेको चिसो बाफ । कहाँ जाने हतारोमा छन्– यी बाफका पैताला ! म निक्कैबेर कफीको बाफसँगै हराउँछु । एकान्तमा कहाँ कहाँ पुग्छु । कल्पनाभन्दा पनि पर र हतार हतार फर्किन्छु ।
नियतिबाट हतार हतार छुटेका कयौँ स्मृतिहरू सम्झिन्छु । सपनाको लम्बेतान यात्राबाट भागेकाका निर्मम निदहरू सम्झिन्छु । आगतका भीषण सन्नाटाहरूसँग तर्सिएका बेखबर रहर सम्झिन्छु । कोलम्बसका पैताला टेकेर निर्जन भूगोलतिर हतारमा लम्किरहेका जिजीविषा सम्झिन्छु । जीवनका स्वर्णिम आयामबाट बेपर्वाह भागिरहेका मेरै अनमोल अतीत सम्झिन्छु । कहाँ छैन हतार !
खुट्टा तान्नेहरू
हतार हतार खुट्टा तानिरहेका छन् ।
हात तान्नेहरू पनि
हतारमा हात तानिरहेका छन् ।
कुरा काट्नेहरू
सासै नफेरि कुरा काटिरहेछन्
सबै छन्– हतारमा ।
विधि छ हतारमा/पद्धति छ हतारमा/हाम्रो शैली र संस्कृति छन्– हतारमा । यो पहाडलाई चुम्बन गर्दै हतार हतार उडिरहेका अदृश्य पवन कहाँ जान्छ ? कहाँ जान्छन् घाम पर्खिरहेका कोहिनुर जस्ता शीतको बुँद ? सिङ्गो बगैँचाबाट छरिएर/फैलिएर आउने यी फूलहरूको मग मग सुवास कहाँ जान्छन् ? भ्रूण भत्काउँदै जन्मिएका यी प्राणीहरूको प्राण कहाँ जान्छ ? सन्तानबाट एक्लिएका बाआमाको आँसुको ढिक्का कहाँ जान्छ ? हमेसा चिन्तनको भूगोलबाट म स्मृतिको ‘अर्काइभ’ मा पुग्छु । यो संसार कति विचित्र छ । चिन्तनको ठेक्का लिएको मेरो अधबैँसे मस्तिष्क किन यति ढिलो छ ? मेरो चिन्तन किन यतिबिघ्न साँघुरो हुँदै छ ? मेरो चेतनाको सुतली किन ढिलो सल्किरहेको छ ?
सडकमा हिँड्यो बाइकलाई हतारो हुन्छ । सदनमा हे¥यो माइक समाउन हतारो हुन्छ । अस्पतालमा हे¥यो अस्ताउनेलाई हतारो हुन्छ । गाडीमा हे¥यो पकेटमारलाई हतारो हुन्छ । एयरपोर्टमा हे¥यो सुन तस्करलाई हतारो हुन्छ । साँझ प¥यो बालुवा/गिट्टी र ढुङ्गा तस्करलाई हतारो हुन्छ ।
कसैको कोखमा जन्मिएँ । दसमास घरजम गरेको कोखलाई लात्ती मारेर हतार हतार जन्मनु थियो जन्मिएँ । गर्भको शून्यताबाट मुक्त खोजेँ । त्यो एकान्तिक अवस्थाबाट भाग्नु थियो भागेँ । लोकको आलोकमा निस्किनु थियोे निस्किएँ । सन्नाटा चिरेर यो कोलाहल/भिडमा ओर्लिएं । यो हस्याङफस्याङको दुनियाँमा झुल्किएँ ।
सोच्छु, किन हतारमा छौँ हामी ? जीवन किन स्थिर छैन ? साँझ आकाशतिर दृष्टि लगाउँछु, चराहरू हतार हतार उडिरहेका हुन्छन् । अस्ताउँदो घामले पोलेको पहेँलो बादल अस्थिर छ । हुरुरुरु उडिरहेको छ । नदी लामो सुस्केरा छोडेर समुद्र भेट्न दगुरी रहेछन् । फूलका थुङ्गाबाट सुगन्ध फैलिरहेको छ चारैतिर । गोधूलि साँझ गाईभैँसीहरू हतार हतार चरनबाट घर फर्किरहेका छन् । ...तर खै ? मस्तिष्कमा रङ्गीन सपना बोकेर टाढा गएका बचेराहरू ? ती कहिले हतार हतार फर्किन्छन् आफ्नो घर ! म उनीहरू घर फर्किरहेको उत्साह हेर्न चाहन्छु । हतार हतार आमाहरूको आँखाबाट खुसी पोखिएको दृश्य हेर्न आतुर छु । बुढो बाउको मरीच झैँ चाउरिएको गालामा इन्द्रेणी रङ पोखिएको हेर्न चाहन्छु । तर खै ! ती इन्द्रेणी सपना मस्तिष्कमा टाँसेर गुँड छोडेर मुग्लान पसेका यौवनाहरू ? म उनीहरू हतार हतार घर फर्किएको हेर्न चाहन्छु ।
हाम्रा हरेक यात्रा हतारमा हुन्छन् । हतारहतारमै हुन्छन् साधनहरू ! हतारमै हुन्छन्– कतिपय हतारोले त हामीलाई नै जिल्लाराम बनाउँछ । ‘ओछ्यान हुँदा निद्रा आउँदैन, निद्रा आउँदा ओछ्यान हुँदैन ।’ यो हतार पनि यस्तै हो । बिनाअर्थको हतारो काम छैन । हाम्रो पल पल हतारोमै छ जिन्दगी । सपनाहरू छन् बेखबर । खै ? यो हतारोका बिच गन्तव्य पहिले आउँछ या महाप्रस्थान ? कोलम्बसले अमेरिका पत्ता लगाउनुअघि पनि हतारमै थिए । अथवा सिल्भिया प्ल्याथलाई सुसाइड नोट लेख्न पनि हतारै थियोे होला । हतारमा धेरै कुरा हुन्छन्, छुट्याउने जिम्मा तपाईंहरूको ।