झिमरुक नदीको कस्तो सान
रोपिन्छ सधैँ फाँटमा गहुँ र धान
वारि र पारि बस्ती नै बसाई
हिँडिरहेको झिमरुक सबैलाई हँसाई ।
जगत पोखरेलको कविताका यी पङ्क्ति जस्तै प्युठान जिल्लाको गौमुखी गाउँपालिकालाई झिमरुकले सिञ्चित गरिरहेको छ । टार, फाँट, बेँसीलाई हरियाली बनाइरहेको छ । दक्षिणतिर झिमरुक र यसका सहायक नदी सिञ्चित गौमुखीको उत्तरतिर छरिएका बस्तीसहितका पहाडी भेग छन् । गौमुखीको पूर्वमा गुल्मी र उत्तरमा बागलुङ पर्छ । पश्चिममा नौबहिनी गाउँपालिका (प्युठान) र दक्षिणमा झिमरुक गाउँपालिका (प्युठान) पर्छ ।
गौमुखीको उत्तरतिर बढ्दै गर्दा दुई हजार पाँच सय मिटरभन्दा माथि वनले ढाकेका अग्ला डाँडा भेटिन्छन् । यही उचाइगत विविधता, वन तथा जलाधार क्षेत्रको उपस्थितिले घना जङ्गल, खुला घाँसे मैदान, भिर, खोला किनारामा धेरै प्रकारका वनस्पति र वन्यजन्तुको वासस्थान गौमुखी बन्न पुगेको छ । उत्तरतिरको गौमुखी वन र कोठीभिर वनलाई समेटी सन् २०१६ मा वन तथा भूसंरक्षण विभागले ‘गौमुखी वन संरक्षण क्षेत्र’ प्रस्ताव गरेको थियो । यहाँको जैविक विविधता र पानीका स्रोतको संरक्षण गरी स्थानीय खाद्य सुरक्षामा सहयोग पु¥याउने र सामुदायिक जीविकोपार्जनमा सुधार ल्याई पर्यावरणीय सङ्कट सामना गर्न सक्ने सामाजिक र पारिस्थितिकीय क्षमता बढाउने उद्देश्यले सो प्रस्ताव अघि सारिएको थियो । तथापि अहिलेसम्म यो वनलाई औपचारिक रूपमा वन संरक्षण क्षेत्र घोषणा गरिएको छैन । यसका कारण यहाँ पाइने विभिन्न जडीबुटी, वनस्पति र वन्यजन्तुको पनि आधिकारिक अभिलेख तथा अनुसन्धान हुन सकेको छैन । तथापि यहाँ पाइने चराका सन्दर्भमा केही अध्ययन भएका छन् ।
गौमुखी गाउँपालिका र हिमाली अनुसन्धान केन्द्रको समन्वयमा त्यस क्षेत्रमा पाइने चराका प्रजाति, तिनको सङ्ख्यालगायत अन्य वन्यजन्तु र पर्यापर्यटन प्रवर्धनका क्षेत्रबारे हालै अध्ययन गरिएको थियो । समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको पालिकाको मुकाम ठुलाबेँसीदेखि करिब तीन हजार तीन सय मिटरको उचाइमा रहेको नागी लेकको चुलीसम्म बेँसी, नदीकिनार, बस्ती, खेतबारी, भिर, पहरा, जलाधार र वन क्षेत्रमा पैदल हिँडेर चरा, अन्य वन्यजन्तु र पर्यापर्यटन प्रवर्धनका क्षेत्रको अनुसन्धान गरिएको थियो । चराविज्ञले वैज्ञानिक पद्धतिबाट फरक फरक मौसममा गरेको यस अध्ययनमा गौमुखी गाउँपालिकामा २१७ प्रजातिका चार हजार ५३८ वटा चरा अभिलेख गरिएको छ ।
असोजको सर्वेक्षणमा मङ्गोलियाबाट जाडोयाममा बसाइँ सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकाश हुँदै दक्षिण जाने क¥याङकुरुङ सारस पनि अभिलेख भएको छ । त्यसै गरी वैशाखमा गृष्मकालीन आगन्तुक चरा आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरली चरा, स्वर्ग चरी, सुन चरी, कस्तुरा, चाँचर जस्ता चरा भेटिएका छन् । ती चरा नेपालमा बच्चा कोरल्न बसाइँ सरी आउँछन् । अध्ययनका क्रममा भेटिएका २१७ प्रजातिका चरामध्ये ९९ प्रजातिका चरा संरक्षण महत्व भएकाले गौमुखी क्षेत्र चराका लागि अत्यन्तै महìवपूर्ण क्षेत्र भएको पुष्टि गरेको छ । यस क्षेत्रमा नेपालका नौ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिर कालिज र मुनाल पाइन्छन् । त्यसै गरी विश्वमै दुर्लभ पाँच प्रजाति डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज पाइन्छन् । राष्ट्रिय रूपमा सङ्कटापन्न अवस्थामा रहेका १७ प्रजाति, चार प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साइटिस सूचीमा सूचीकृत चरा यस क्षेत्रमा भेटिनुले गौमुखी क्षेत्र चराप्रेमी पर्यटकका लागि आकर्षण गन्तव्य बन्ने अवस्था छ । यस क्षेत्रमा लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ । चरा मात्र होइन, यस अध्ययनले आठ प्रजातिका पुतली, पाँच प्रजातिका माछा, चार प्रजातिका उभयचर, आठ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावरको उपस्थिति अभिलेख गरेको छ; जसले यस क्षेत्रको समग्र जैविक सम्पदा झल्काउँछ ।
यस अध्ययन अनुसार गौमुखीले ‘महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ बन्न सक्ने सबै मापदण्ड पूरा गरेको छ । महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र बनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार तथा वैज्ञानिक प्रकाशनमा पनि उल्लेख हुने हुँदा विदेशी पर्यटक र अनुसन्धानकर्ता यस क्षेत्रका चरा, अन्य वन्यजन्तु र जैविक विविधताको अवलोकन तथा अध्ययन अनुसन्धान गर्न आउने सम्भावना प्रबल हुन्छ । रणनीतिक हिसाबले मदाने, गौमुखी र कोठीभिरलाई समेटी नेपालको संरक्षित क्षेत्र बनाउन सकिन्छ जसले ढोरपाटन सिकार आरक्षलाई जैविक रूपमा जोड्न सक्छ ।
सुन्दर भूदृश्य, वनजङ्गल, वन्यजन्तु, जलाधार, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैलीको सम्मिश्रणले गौमुखी अनुपम छ । यो क्षेत्र चरा अवलोकन र पदयात्रा मा आधारित पर्यापर्यटनका लागि अत्यन्त सम्भावनायुक्त छ । विश्वमै दुर्लभ चरा पाइने हुँदा तिनलाई हेर्न र तस्बिर खिच्न पर्यटक आकर्षित हुन्छन् । गौमुखी क्षेत्र झिमरुक नदीको उद्गमस्थल हो । थुप्रै जलाधार भएको क्षेत्र पनि हो । यहाँ विभिन्न जातजाति र समुदाय बसोबास गर्छन्, जसले आफ्नै परम्परा, संस्कृति र जीवनशैलीलाई अपनाउँदै आएका छन् । यो विविध सांस्कृतिक पृष्ठभूमिका कारण यो क्षेत्र आगन्तुकका लागि बिल्कुलै भिन्न र आकर्षक सांस्कृतिक अनुभव दिने ठाउँ हो । यस क्षेत्रको भौगोलिक बनावट पनि अत्यन्त आकर्षक छ । घना वन, झरना, शान्त नदी, हरियाली डाँडाकाँडासहितको प्राकृतिक दृश्यले प्रकृतिप्रेमी र साहसिक यात्राको खोजी गर्नेलाई मोहनी लगाउँछ । यहाँको वनस्पति र वन्यजन्तुमा पनि विविधता छ । जुनिपर र लालीगुराँसको मिश्रित वनमा जब गर्मीयाममा गुराँस फुल्छ सम्पूर्ण क्षेत्र नै स्वर्ग जस्तो लाग्छ ।
नागी लेक
नागी लेक प्रकृति पदयात्राका लागि एक प्रमुख आकर्षक स्थान हो । नागी लेक गौमुखी गाउँपालिका–२ मा पर्छ । रजवराको खरासम्म मोटरबाटो पुगेको छ त्यहाँबाट पैदलयात्राको सुरुवात गर्न सकिन्छ । अथवा गौमुखीतिरबाट पनि यात्रा गर्न सकिन्छ । खरागाउँ जुन समुद्री सतहबाट करिब दुई हजार एक सय मिटरको उचाइमा छ, त्यहाँबाट पदमार्ग पछ्याउँदै नागी लेकको चुली पुग्न करिब सात घण्टा लाग्छ जुन तीन हजार तीन सय मिटरको उचाइमा छ । यात्राका क्रममा सयौँ चराका चिरबिर आवाज र गुराँसलगायतका फूलले पदयात्रीलाई गहिरो शान्ति, आनन्द र प्रकृतिसँगको सम्बन्धको अनुभूति दिन्छ । यस यात्रामा झिमरुक नदीको बहाब, तिखाचुली, कोठीभिर, मदाने जस्ता पहाड, रजवरा र अर्खाका बस्ती देखिन्छ । चुली पुगेपछि धवलागिरि र अन्नपूर्ण हिमशृङ्खला प्रस्टै देख्न सकिन्छ । बस्नका लागि ओत लाग्ने संरचना चुलीमा बनाइएको छ, भेडीगोठ पनि छन् । खाने र बस्ने बन्दोबस्तीका सामग्री आफैँ लैजानु पर्छ । रात बिताउने गरी जाँदा मनमोहक सूर्यास्त र सूर्योदय हेर्न सकिन्छ । बिहानै मुनाल र फक्रास जस्ता सुन्दर चराको आवाज सुन्न सकिन्छ ।
गौमुखी गुफा र झरना
गौमुखी गुफा भौगोलिक, जैविक र पर्यटकीय हिसाबले झनै अनुपम छ । गुफाबाटै झरना निस्किएको छ । झिमरुक नदीको मुहान त्यसैलाई मानिन्छ । गुफा गौमुखी गाउँपालिका–२ मा पर्छ । माझधारातिरबाट झरेको घुस्टुङखोला र उत्तर पश्चिमतिरबाट झरेको दाद्रखोलाको दोभानको छेउमै पूर्वपट्टि गौमुखीको गुफा छ । गुफा आसपासमा दर्जनौँ प्राकृतिक झरना छन् । ढल्दो सूर्यको किरण झरनामा ठोक्किएर इन्द्रेनी परिरहेको हुन्छ । करिब ४५ फिट लम्बाइ, १८ फिट चौडाइ र २० फिट उचाइको गौमुखी गुफा त्यस क्षेत्रको प्रमुख आकर्षण हो । गौमुखीको पारिपट्टि उत्तरपश्चिमको तिर्छाङ्गाको भिरमा हिमाली गिद्ध र हाडफोर गिद्धको वासस्थान छ । गौमुखीको पाखातर्फको मरिसेको जङ्गलमा दर्जनौँ प्रजातिका चरा देख्न सकिन्छ । नजिकैको दुईबहिनी भिरमा दुर्लभ तथा संरक्षित चरा चिर कालिज पनि देख्न सकिन्छ । अर्खाको ठुलाचौरसम्म गाडी जान्छ । त्यहाँबाट करिब दुई घण्टा पैदलयात्रामा गौमुखी पग्न सकिन्छ । अर्खाको किनाममा बास बस्न होमस्टे पनि सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेशकै अग्लो बाइसमूल झरना छोटो प्रकृतिको पदयात्रा र मनोरम दृश्यका लागि परिचित छ । पदयात्राको थकानमा झरनामा नुहाउन, फोटो खिच्न, भिडियो बनाउन मात्र होइन; कल कल बग्ने नदीमा खेलिरहेका माछा र आहार खान डुलिरहेका खोलेधोबिनी चरा पनि देख्न सकिन्छ । यो झरना गौमुखी गाउँपालिका–२ मा पर्छ । झरना आसपासमा बस्न रुचाउने आकर्षक दुई प्रजातिका खोलेधोबिनी यहाँ पाइन्छन् ।
झाँक्रीढुङ्गा
गौमुखी गाउँपालिका–३, रजवारामा अवस्थित झाँक्रीढुङ्गा क्षेत्र पनि पदयात्रा, क्याम्पिङ, वनभोज र चरा अवलोकनका लागि उत्तम स्थान हो । झाँक्री ढुङ्गा धार्मिक महत्वको स्थान पनि हो । यो स्थानमा झाँक्रीको पूजा हुने गर्छ । करिब दुई हजार पाँच सय मिटरको उचाइमा रहेको धार्मिक र सांस्कृतिक रूपमा अत्यन्तै महìवको यस क्षेत्रबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । चैत वैशाखमा ढकमक्क फुलेका गुराँसका पुड्का वनले पदयात्रीलाई आनन्दित बनाउँछ । यस क्षेत्रमा लालपुच्छे« बुङ्गे चरा, पिउरा, हिमाली गिद्ध, द्रोणक चिल, जुरे चिल जस्ता चरा देख्न सकिन्छ ।
रानी दह
गौमुखी गाउँपालिका–३ मा पर्ने रानी दह रजवाराको वन बिचमा अवस्थित छ । जैविक र पर्यटकीय महत्वको रानी दहमा वनभोज, हाइकिङसँगै वन क्षेत्रमा पाइने चरा अवलोकनका लागि यो क्षेत्र उपयुक्त छ । यस क्षेत्रमा घनरक्त सुनचरी, नक्कले मारुनी चरी, कटुसे मट्टा र गृष्मकालीन आगन्तुक चरा स्वर्ग चरी जस्ता चरा र अन्य वन्यजन्तु देख्न सकिन्छ ।
तामाखानी र पूजाको वन
गौमुखी गाउँपालिका–४, पूजामा रहेको तामाखानी र वनक्षेत्र पनि एक आकर्षक गन्तव्य हो । उक्त खानीबाट पहिले तामा निकालिन्थ्यो । हाल बन्द रहेको छ । ठुलाबँेसीबाट चरा अवलोकन गर्दै र गाउँबस्ती डुल्दै यस क्षेत्रमा पुग्न सकिन्छ । तामाखानीबाट वनक्षेत्र हुँदै वा वालिबाङबाट चुलिको वनक्षेत्र भएर रजवारा जाँदा दर्जनौँ चरा, सुन्दर भूदृश्य मनोरम वनमा पैदयात्रा गर्न सकिन्छ । चरासँगै लोखर्के, रतुवा मृग, मालसाप्रो र ढेडु बाँदर जस्ता वन्यजन्तु पनि यहाँ देख्न सकिन्छ ।
गौमुखी गाउँपालिका–६, लिवाङमा रहेको दियाल्नाचौर एक रमणीय स्थल हो । वनभोज र दृश्यावलोकनका लागि प्रख्यात यस क्षेत्रबाट जिल्लाको अधिकांश भूभाग देख्न सकिन्छ । दियाल्नाचौरमा ठुलो खेलमैदान बनाइएको छ । आकाशमा कावा खाँदै उड्ने गिद्धका साथै सिकारी चरा बाज, बौडाइ र चिलका प्रजाति यस क्षेत्रमा देख्न सकिन्छ । लिवाङमै रहेको इख्नादेवी पनि धार्मिक र ऐतिहासिक हिसाबले मात्र होइन प्राकृतिक र चरा तथा अन्य वन्यजन्तुको उपस्थितिका हिसाबले महìवपूर्ण छ ।
खुङ्गको वन र टोप्रे गुफा
गौमुखी गाउँपालिका–५, खुङ्गको वन र टोप्रे गुफा पर्यापर्यटनका लागि महìवपूर्ण क्षेत्र हो । मानव वस्ती आसपासमा पाइने चराका धेरै प्रजाति यस क्षेत्रमा पाइन्छ । यहाँ विश्वमै दुर्लभ डङ्गर गिद्ध, सुन गिद्ध र सेतो गिद्ध देख्न सकिन्छ । चमेरा र अन्य स्तनधारी वन्यजन्तुका लागि पनि महìवपूर्ण यस क्षेत्रमा मौसम अनुसार बसाइँ सरी आउने चरा अवलोकन गर्न सकिन्छ । टोप्रे गुफा भौगर्भिक अध्ययनका लागि पनि उपयुक्त स्थान हो । यसलाई पछिल्लो समय आध्यात्मिक क्षेत्रका रूपमा विकास गर्ने प्रयत्न भइरहेको छ ।
अर्खाको वनक्षेत्र
गुल्मीको मदाने संरक्षित वनक्षेत्रसँगै जोडिएको अर्खाको वनको महìव अन्य वनक्षेत्रको जत्तिकै रहेको छ । यो वनक्षेत्र गौमुखी गाउँपालिका–१ र २ मा पर्छ । यही वनबाट मात्र करिब १२० प्रजातिका चरा अभिलेख भएका छन् । यो वन चरा तथा जैविक विविधताका साथै पानीको मुहानका लागि महìवपूर्ण छ । यो वनले मदाने र गौमुखीलाई जोड्ने हुँदा वन्यजन्तु वारपार गर्ने मुख्य मार्ग पनि हो । गौमुखी गाउँपालिका जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको समन्वय भएको एउटा अद्वितीय गन्तव्य हो । गौमुखीमा स्वच्छ हावा लिँदै, मनोरम दृश्यावोलकन गर्दै, चराको चिरबिर सुन्दै, उकालीओराली हिँड्नका लागि ‘हाइकिङ’ तथा ‘ट्रेकिङ’ को प्रचुर सम्भावना छ । प्रकृति मात्र होइन त्यहाँको भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्न तथा सिक्न पनि यो ठाउँ एक उपयुक्त गन्तव्य बन्न सक्छ । प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक, धार्मिक, ऐतिहासिक सम्पदाका साथै जैविक विविधतामा अनुपम गौमुखी मध्यपहाडी क्षेत्रको वन, वन्यजन्तु, वातावरण र सामाजिक अध्ययनको क्षेत्रमा रुची राख्नेका लागि खुला प्राकृतिक विश्वविद्यालय हो ।