तिलाचन पाण्डे
तम्घास(गुल्मी), भदौ २८ गते । गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ ।गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा ७८ जनाले नयाँ नागरिकता बनाउँदा ९६ जनाले प्रतिलिपि बनाएका छन् ।
गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्तामा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी रहेको बताउनुभयो । नागरिकतालाई माया नगर्ने, जथाभावी फाल्ने र पहिले भएका गल्तीहरु सच्याउने गर्दा पनि प्रतिलिपि लिनेको सङ्ख्या बढी भएको हो । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकतामा भएका गल्तीहरु देखिने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्या बढेको गैरेले बताउनुभयो ।
सोही समय अवधिमा नाबलक परिचयपत्र आठ, राहदानीका लागि आवेदन सङकलन ६८, राहदानी वितरण एक सय, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७०२, परिचयपत्र वितरण १८६ र २५ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको छ । सोही समयमा पाँच संस्था नविकरण भएको प्रशासनले जनाएको छ । यस समय अवधिमा राहदानीबाट पाँच लाख ३७ हजार पाँच सय, संस्था नविकरणबाट २८ हजार पाँच सय, राष्ट्रिय परिचयपत्रबाट चार हजार रुपियाँ गरी कुल पाँच लाख ७० हजार रुपियाँ राजस्व सङ्कलन भएको गैरेको भनाइ छ ।