सिराज खान
नेपालगन्ज, भदौ २६ गते । देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनु पर्ने माग गर्दै नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् ।
विहीबार अपरान्ह कारागारको भित्रिगेटमा भेला भएका उनीहरुले निकै बेरसम्म नाराबाजी गर्दै आगजनी र तोडफोड गरेका थिए । सुरक्षामा खटिएको नेपाली सेनाले धेरै बेरसम्म सम्झाई बुझाई गर्दा पनि कैदीहरुले उल्टै सेनामाथि आक्रमण गर्ने प्रयास गरेपछि सेनाले गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट एक जना कैदीको खुट्टामा गोली लागेको छ । उनलाई एम्बुलेन्स मार्फत् उपचारका लागि भेरी अस्पताल लगिएको छ । कैदीबन्दीले आगजनी गरेपछि त्यहाँ आएको दमकलले आगो नियन्त्रणमा लिएको छ । कारागारमा अहिले सेनाको नेतृत्वमा शसस्त्र र नेपाल प्रहरी गरेर धेरै ठुलो संख्यामा सुरक्षाकर्मीहरु उपस्थित छन् । उनीहरुले कारागारलाई चारैतिरबाट घेरेका छन् ।
अवस्था नियन्त्रणमा आए पनि तनावग्रस्त रहेको सुरक्षाकर्मीहरुले जनाएका छन् । यसैबिच, स्थानीय प्रशासनले बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरेको छ । विहीबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रकाशित गर्नु भएको विज्ञप्तीमा जनाइएको छ ।