नागेन्द्रकुमार कर्ण
महोत्तरी, भदौ २६ गते । जिल्ला कारागार महोत्तरीबाट मङ्लवार साँझ भागेका कैदीवन्दीहरु कारागार प्रशासनले फिर्ता हुन गरेको आग्रहपछि कैदीबन्दीहरु कारागार फर्किन थालेका छन् ।
अहिलेसम्म ३५ जना कारागारमा फिर्ता भइसकेको कारागारका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँले ज्यान मार्ने मुद्दामा पूर्पक्षमा रहेका बलवा नगरपालिका –५ का दिपककुमार यादव, कर्तव्य ज्यान मुद्दाका चन्द्रदिप यादव, संजय साह, लागुऔषध मुद्दाका सनत शिवाकोटी, सवारी ज्यान मुद्दाका ब्रिकेश मण्डल फर्किएका छन् ।
त्यस्तै, थमन विक हत्या मुद्दाका प्रदिप साह माझी, अपहरण मुद्दाका राहुल सिंह, सवारी ज्यान मुद्दाका राहुल कुमार झा, कर्तव्य ज्यान मुद्दाका नारायण थापा, हरिदेव यादव लगायतका कैदीवन्दीहरु फर्किएको जानकारी दिनुभयो ।
मङ्लवार साँझ आन्दोलनकारीहरुले मधेश आन्दोलनको मुद्दामा कारागारमा रहेका कौशल यादव, प्रदिप माफी, संजय साह, देवेन्द्र चौधरी, चन्द्रिप यादव लगायतलाई छोड्न माँग गर्दै कारागारमा आन्दोलन गर्दै पुगेपछि वाहिर र भित्र दुवैको ढोका फोडेर कैदीवन्दीहरु भागेका थिए ।
सो बेला कारागारको सुरक्षार्थ ४९ जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरी रहेको बताउनु हुँदै प्रहरीले बल प्रयोग नगरेपछि कैदीवन्दीहरु भागेको कारागारका निमित्त कार्यालय प्रमुख ठाकुरले जानकारी दिनुभयो ।