• २६ भदौ २०८२, बिहिबार

संविधानमा टेकेर अघि बढ्न महामन्त्री थापाको आग्रह

blog

नेपाली कांग्रेसका महामन्त्री गगन थापा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २६ गते । नेपाली काग्रेसका महामन्त्री गगन थापाले संविधानमा टेकर अघि बढ्न जेनजी पुस्तालाई आग्रह गर्नुभएको छ । बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले जेनजीका प्रतिनिधिलाई संविधानमा टेकेर मात्र अघि बढ्न आग्रह गर्नुभएको हो । 

नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लीम, हिन्दु अल्पसङ्ख्यक गरी थुप्रैको माग, मुद्दा समेटेर सन्तुलन मिलाएर संविधान बनाएको भन्दै थापाले यस्तो आग्रह गर्नुभयो ।   

संविधानको ख्याल नगरेमा देशको अवस्था भयावह हुन सक्ने थापाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामीले संविधानको निरन्तरताका बारेमा ख्याल गर्नुपर्छ । अब गर्ने काम संविधानमा टेकेर गर्नुपर्छ । त्योभन्दा बाहिर गयौँ भने फेरि भयावह हुनसक्छ ।”

तत्काल कोही नबोले पनि संविधानमा लेखिएको आफ्नो अधिकार खोसिएपछि सबैले बिद्रोहमा उत्रिँदा कसैलाई समाल्न गाह्रो हुने उहाँको भनाइ छ । उहाँले जेनजी जेनेरेसनको यो बलिदान खेर जान दिन नहुनेमा जोड दिनुभएको छ ।   

उहाँ भन्नुहुन्छ, “यस्त्रो ठुलो हुटहुटी राखेर जे काम गर्नुभएको छ, त्यसको दुःखान्त नहोस, पराजयपूर्ण विजय नहोस् । विजय भएपछि गएर पश्चाताप नहोस् ।  तपाईंहरू अगाडि आउनुभएको छ, त्यसलाई बिग्रन नदिन शान्त र धैर्य भएर सोच्नुहोस् ।”

नेपालको जियोपोलिटिकल सबै जातजाति समुदाय मिलाउने कुरा निकै जटिल भएको भन्दै यसलाई बिचमा सन्तुलन मिलाएर लैजानुपर्ने बताउनुभयो । उहाँले देशमा ठुलो क्षति भएकाले त्यसको पुनःनिर्माण गर्दै गल्ती गर्नेलाई सजाय दिनुपर्ने र बाँकी रहेकालाई मिलाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएकोमा माफी माग्नु भएको छ । 

जेनजीले उठाइरहेका मुद्दा आफूले पार्टी र संसद्मा उठाउँदै आएको भन्दै त्यसलाई निष्कर्ष दिन नसकेको थापाको ठहर छ । उहाँले अब आफू र आफूआबद्ध पार्टी सच्याउनमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।