• २६ भदौ २०८२, बिहिबार

अमेरिकी भिसा सुधार बिना कोरियाली लगानीमा हिचकिचाहट : राष्ट्रपति ली

blog

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ ।

सियोल, भदौ २६ गते । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिनुभएको छ ।

आफ्नो कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सेप्टेम्बर ४ मा जर्जियामा भएको आप्रवासन छापामारीबारे पनि प्रष्ट्याउनुभयो । सो घटनामा ह्युन्डाईको निर्माणाधीन ब्याट्री कारखानामा काम गर्ने तीन सयभन्दा बढी कोरियाली कामदार पक्राउ परेका थिए । लीका अनुसार वार्तापछि ती कामदारहरूलाई चार्टर विमानमार्फत शुक्रबार स्वदेश फर्काइने तयारी गरिएको छ ।

छापामारीपछि दक्षिण कोरियामा व्यापक आक्रोश चर्किएको छ । अमेरिकी अधिकारीहरूले केही कामदारलाई जञ्जिरले बाँधिएको भिडियो सार्वजनिक गरेपछि विश्वासघातको भावना बढेको थियो । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र लीबिचको शिखर बैठकको दुई साताभन्दा कम समयमा आएको हो । त्यही बेला सियोलले अमेरिकी उच्च करबाट छुट पाएको थियो र तीन खर्ब ५० अर्ब डलर बराबरको नयाँ लगानी गर्ने बाचा गरेको थियो ।

सत्तारूढ र विपक्षी दुवै सांसदहरूले छापामारीलाई अपमानजनक भनेका छन् । प्रमुख पत्रिकाले यसलाई ‘खरायोको शिकार’ भन्दै आलोचना गरेको छ । लीले भन्नुभयो, “यो दीर्घकालीन कामदारको विषय होइन । कारखाना निर्माण वा उपकरण जडानका लागि छोटो अवधिका टेक्निसियन आवश्यक हुन्छन् । तर अमेरिकाले आफ्नै जनशक्ति नभएको अवस्थामा पनि हामीलाई आवश्यक भिसा दिन अस्वीकार गर्छ । यस्तो भएमा हाम्रो कम्पनीलाई त्यहाँ लगानी गर्न गाह्रो हुन्छ ।”

उहाँका अनुसार, छापामारीले दुई देशबिच आप्रवासन सम्बन्धी ‘सांस्कृतिक भिन्नता’ देखाएको छ । उहाँले उदाहरण दिँदै भन्नुभयो, “दक्षिण कोरियामा अमेरिकी पर्यटक भिसामा आएर निजी क्र्याम स्कुलहरूमा अङ्ग्रेजी पढाउ छन्, हामी यसलाई समस्या मान्दैनौँ । तर अमेरिकाले त्यस्तो सहन सक्दैन ।” वासिङ्टनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले हिरासतमा परेकालाई आफ्ना काम पूरा गर्न अनुमति दिने सहमति भएको बताउनुभयो । 

साथै नयाँ भिसा कोटाबारे छलफल गर्न संयुक्त कार्य समूह गठन गर्ने निर्णय भएको छ । तर चोले चेतावनी दिनुभयो, “यदि भिसा समस्याको समाधान भएन भने अझ धेरै कोरियाली कामदार भविष्यमा पनि यस्तै धरपकडको जोखिममा पर्न सक्छन् ।” जर्जियाको ब्याट्री प्लान्ट त्यस्ता २० भन्दा बढी औद्योगिक परियोजनामध्ये एक हो जुन कोरियाली कम्पनीले अमेरिकामा निर्माण गरिरहेका छन् । यसमा टेक्सासको सेमिकन्डक्टर कारखाना र फिलाडेल्फियाको जहाज निर्माण परियोजना पनि पर्छन्, जसलाई राष्ट्रपति ट्रम्पले बारम्बार कोरिया-अमेरिका साझेदारीका उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।

दक्षिण कोरियाली विज्ञ मिन जियोंघुनका अनुसार, समाधानको जिम्मा मुख्यतया अमेरिकाकै हातमा छ । कानुनी व्यवस्था वा छोटो अवधिका कार्य भिसा विस्तारमार्फत मात्र समस्याको निकास सम्भव हुन्छ ।  उहाँले भन्नुभयो, “यदि भिसा नीतिमा अद्यावधिक भएन भने कोरियाली कम्पनीले आफ्ना कामदार पठाउन सक्दैनन्, जसले अमेरिकी उद्योग विस्तारमा ढिलाइ ल्याउने छ र त्यसको प्रत्यक्ष हानि अमेरिकी अर्थतन्त्रलाई हुने छ ।” रासस/एपी