राममणि दाहाल
मकवानपुर, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कर्फ्यूको समय घटाएको छ ।
शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि यसअघि शनिश्चितकालका लागि जारी गरिएको निषेधाज्ञा तथा कर्फ्यूको समयमा बिहीबारबाट घटाइएको हो । अर्को सूचना नभएसम्मका लागि जिल्लाभर बिहान १०ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ ।
यस्तै बेलुका ७ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने भएको छ ।
निषेधाज्ञा तथा कफ्यू को समयमा अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
विभिन्न सरकारी कार्यालय, बैँक तथा वित्तीय संस्था लगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म परिचयपत्र देखाई आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ । साथै निषेधाज्ञा तथा कर्फ्यूको समयमा एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला तथा जिम्मा हुन नपाइने सूचनामा उल्लेख छ ।
हेटौँडा बजार क्षेत्रमा मङ्गलबार दिउँसो १ः०० बजेबाट कर्फ्यू आदेश जारी भएको थियो । कर्फ्यू आदेश जारी भएपछि नै हेटौँडामा रहेको वडा कार्यालयदेखि प्रदेशका सरकारका मन्त्रालयहरूमा आगजनी र तोडफोड गरिएको थियो ।