गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २६ गते । प्रजातन्त्रिक विचार समाजले मुलुकको वर्तमान परिस्थितिको समाधान शान्तिपूर्ण वार्ता र लोकतान्त्रिक विधिबाट नै खोज्न अपिल गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै नागरिक समाजका सम्पूर्ण सङ्घ, संस्थालाई यस विषयमा एकताबद्ध र सक्रिय हुन समेत अनुरोध गरेको छ ।
देशलाई पुनःअगाडि बढाउन राजनीतिक दल, नागरिक समाज र राज्यका वैधानिक संयन्त्र सक्रिय हुने र यिनको भूमिका प्रभावकारी रहने विश्वास राख्दै समाजले संवैधानिक र लोकतान्त्रिक माध्यमबाट नै राजनीतिक समाधान खोज्न आग्रह गर्दछ ।
भदौ २३ र २४ गते दुई दिनमा नेपाली समाजले मानवनिर्मित नितान्त अनपेक्षित मानवीय र भौतिक क्षति बेहोर्नु परेको र अवस्था अत्यन्त अनिश्चित भएको समाजको ठहर छ । शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक र मौलिक अधिकार भए पनि हिंसा सभ्य दुनियाँको निम्ति अस्वीकार्य हुने समाजका अध्यक्ष कुलचन्द्र वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने घोषणसहित सडकमा आएको जेनजी समूहका तर्फबाट नै आफ्नो आन्दोलनमा अवाञ्छिन तत्वको घुसपैठ र षड्यन्त्र भएको समाजले जनाएको छ । सोमबार र मङ्गलबार भएको प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाजले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।