बिष्णुप्रसाद पोखरेल
दमक, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यसले वातावरण सामान्य बन्दैगएको छ ।
अत्यावश्यक बाहेक हिँडडुल नगर्न र अत्यावश्यक पर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गरेर मात्र गर्न आदेशमा भनिएको छ । अत्यावश्यक काममा सुरक्षा निकायको अनुमति लिएर बाहेक घरबाहिर निस्केर हिँडडुल गर्न, भेला जम्मा हुन नपाउने गरी कर्फ्यू आदेश कडाईका साथ लागु हुने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
आन्दोलनकारीहरू सडकमा बुधबारदेखि नै देखिएका छैनन् । सर्वसाधरणहरूको आवत–जावत पातलो रहेको छ । झापामा सार्वजनिक सवारी साधनहरू चलेका छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति पनि सडकमा देखिएको छैन । स्थानीय तहहरू र सार्वजनिक तथा सरकारी कार्यालयहरू ठप्प रहेका छन् ।
जिल्लाका सबैजसो प्रहरी कार्यालयहरू आन्दोलनकारीहरू नियन्त्रणमा लिएर ध्वस्त बनाएपछि प्रहरी विस्थापित बनेपछि प्रहरीको उपस्थिति शून्यजस्तै बनेको छ । नेपाली सेनाका सवारी साधन बेला–बेला सडकमा देखिने गरेको बताइन्छ । दमक, बिर्तामोड लगायतका प्रमुख व्यापारिक केन्द्रका मुख्य बजारहरू बन्द छन् ।