चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङमा बिहीबार साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जेनजी पुस्ता (समूह) ले गरेको प्रदर्शन हिंसात्मक भई देशमा विषम परिस्थितिको सिर्जना भएको अवस्थालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निषेधाज्ञा जारी गर्नुभएको हो ।
देशभरको शान्ति सुरक्षाको अवस्थालाई मध्यजनर गर्दै ताप्लेजुङमा निषेधाज्ञा जारी गरिएको प्रजिअ सेढाइँले सूचनामा उल्लेख गर्नुभएको छ । जुलुस, प्रदर्शन, घेराउलगायत विरोधका गतिविधिका कारण सार्वजनिक सम्पत्ति तोडफोड, आगजनीसहित उच्छृङ्खल र अवाच्छित क्रियाकलापबाट शान्ति सुरक्षामा प्रतिकूल असर पुग्ने अवस्था कायमै रहेकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ ।
बिहीबार (आज) बिहान १० बजेदेखि लागू हुनेगरी साँझ ५ बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी भेला भएर हिड्डुल गर्न बन्देज गरिएको छ ।
त्यस्तै कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि गर्न नपाइने भएको निषेधाज्ञा सूचनामा उल्लेख गरिएको छ ।
निषेधाज्ञाको क्षेत्र भने पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र तोकिएको छ । यसअघि प्रजिअ सेढाइँले आज बिहान ६ बजे सम्मका लागि बुधबार साँझ कर्फ्यु जारी गर्नुभएको थियो ।