• २६ भदौ २०८२, बिहिबार

कैदीबन्दी भाग्न थालेपछि सुरक्षामा कडाइ

blog

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, भदौ २६ गते । जेनजी समूहको आन्दोलनको मौका छोपी कर्णाली प्रदेशका दुई जिल्ला रुकुमपश्चिम र जुम्लाबाट कैदीबन्दी भागेका छन् । यसरी कारागारबाट कैदी भाग्न थालेपछि सुरक्षा व्यवस्था कमजोर बनेको छ । जुम्लाबाट ३६ जना र रुकुमपश्चिमबाट ८८ जना भागेका छन् । यद्यपि कतिपयलाई भने प्रहरी नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी कार्य जारी राखेको जनाइएको छ । यीबाहेक प्रदेश राजधानी सुर्खेतको कारागार, जाजरकोट कारागारमा सम्भावित घटना हुन नदिन सेना, प्रहरीले कडा सुरक्षा दिएका छन् । 

सुर्खेत समाचारदाताका अनुसार कर्णालीमा सबैभन्दा धेरै कैदीबन्दी राखिएको सुर्खेत कारागारलाई जेनजी आन्दोलन सुरु हुने दिन गत सोमबारदेखि नै कडाइ गरिएको थियो । सुरुमा कारागार प्रशासन र सुरक्षार्थ खटिएको प्रहरी टोलीले रातभर नसुतेर कारागारलाई सुरक्षा दिएका थिए भने भने मङ्गलबार राति नेपाली सेना सुरक्षाका लागि आएका थिए । सुर्खेत कारागारका सूचना अधिकारी भुवन गौतमले आन्दोलन भएदेखि नसुतेर सुर्खेत कारागारको निगरानी गरिएको बताउनुभयो । 

सुर्खेत कारागारमा अहिले ४१३ जना कैदीबन्दी छन् । जसमा पुरुष ३६८, महिला ४५ र आश्रित बालबालिका तीन जना छन् । सूचना अधिकारी गौतमले कैदीबन्दीलाई परामर्श गरेर ध्यान मोडिएको जानकारी दिँदै अन्य जिल्लामा जस्तो सुर्खेत कारागारमा अप्रिय घटना नभएको जनाउनुभयो । उहाँका अनुसार सुर्खेत कारागारलाई ४५ जना सुरक्षाकर्मीले सुरक्षा दिएका छन् । 

छत्तिस कैदीबन्दी भागे

जुम्लाको सिँजा समाचारदाताका अनुसार जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगारभित्र रहेका हतियार र दाउराको प्रयोग गरी मङ्गलबार राति ११ बजेतिर कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । 

४१ जना कैदीबन्दी भागेकोमा त्यसमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य ३६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले बताउनुभयो । जेनजी आन्दोलनको मौका छोपी रातिको समयमा कैदीबन्दी भागेका हुन् । ९७ जना कैदीबन्दीमध्ये पाँच महिला र ९२ पुरुष कैदीबन्दी कारागरामा रहेका थिए । प्रहरी र सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँबस्तीमा खोजतलास तीव्र बनाएका छन् । 

जिल्ला प्रशासन कार्यालयले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै कारागारमा भएको कमजोरीबारे छानबिन सुरु गर्ने जनाएको छ । अहिले फरार कैदीको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ । 

४३ कैदीबन्दी नियन्त्रणमा

रुकुमपश्चिमको मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिममा रहेको कारागार कार्यालयबाट कैदीबन्दी भागेका छन् । कारागारबाट ८८ जना कैदीबन्दी भागेका हुन् । 

कारागार कार्यालयका अनुसार मङ्गलबार बिहानसम्म १५८ कैदीबन्दी कारागारमा रहेकोमा बेलुकापख उनीहरू भागेका हुन् । भागेकामध्ये नियन्त्रणमा लिएर बुधबार दिउँसोसम्म ४३ जनालाई पुनः कारागारमा फर्काइएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बाँकी रहेका ४५ जनाको खोजी भइरहेको बताउनुभयो । कारागारबाट भागेको सूचना पाउनेबित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । कारागार कार्यालयले २५ जनाको क्षमता रहेको कारागारमा १५० जना पुरुष, सात जना महिला र एक नाबालक रहेको जनाएको छ । 

कारागारको सुरक्षामा सेना

कालीकोट समाचारदाताका अनुसार जेनजीको आन्दोलन देशभर भएको र कैदीबन्दी कारागारबाट भाग्न थालेपछि जिल्लामा सुरक्षा चुनौती थप बढेको छ । जिल्ला कारागार कालीकोटका कैदीबन्दीले आफूहरू पनि बाहिर जान पाउनुपर्ने भन्दै नाराबाजी गर्न थालेपछि कारागार सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । कालीकोटमा पनि १५ मिनेट ढिलो नेपाली सेना पुगेको भए कैदी भागिसक्ने थिए तर समयमै सेना पुगेका कारण भाग्न असफल भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले कारागार सुरक्षाका लागि सेनालाई खटाएको बताउनुभयो । उहाँले अब अवस्था त्यति जटिल छैन, आन्दोलन गरिरहेका युवाले पनि शान्तिपूर्ण आन्दोलन गरेका र कैदी भगाउनेतर्फ तोडफोडमा नलागेकाले जिल्लाको सुरक्षा त्यति बिग्रँदो नभएको बताउनुभयो । 

नाराबाजी गरेर भाग्ने प्रयास 

यसै गरी जाजरकोटको खलङ्गा समाचारदाताका अनुसार जेनजी आन्दोलनमा नाराबाजी गरी मङ्गलबार जाजरकोट कारागारका कैदीबन्दीले भाग्ने प्रयास गरेका छन् । कैदीबन्दीले भाग्न नाराबाजी गरेपछि तत्काल नेपाली सेना कारागारमा पुगेपछि सामान्य बनेको हो । सदरमुकाम तथा स्थानीय तहका सरकारी कार्यालयमा सुरक्षा दिएपछि दिउँसो तनाव भए पनि अहिले अवस्था सामान्य बन्दै गएको अधिकारीहरूले बताएका छन् ।