चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र जिल्ला अदालतले सेवा अनिश्चित कालका लागि बन्द गरेका छन् । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगजनीको घटनासँगै देशभरको परिस्थिति प्रतिकूल भएपछि फुङ्लिङ नगर र ताप्लेजुङ जिल्ला अदालतले सेवा बन्द गरेका छन् ।
जेनजी समूहले मङ्गलबार राति गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन ध्वस्त भएको छ । प्रशासकीय भवन तहसनहस भएपछि नगर प्रमुख अमिर मादेनले बुधबार विज्ञप्ति प्रकाशित गर्नुहुँदै नगरपालिकाले प्रवाह गर्दै आएको सेवा अनिश्चित काल (समय) का लागि बन्द गरिएको उल्लेख गर्नुभएको छ ।
तोडफोड र आगजनीका कारण प्रशासकीय भवन क्षतिग्रस्त भएर काम गर्न सक्ने अवस्था नभएकाले नगरपालिकाको सम्पूर्ण सेवा बन्द गर्नुपरेको नगर प्रमुख मादेनले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । अर्को सूचना नभएसम्म नगरपालिकाको सेवा बन्द रहने र सेवा प्रवाह नहुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमा याचनासमेत गरेको छ ।
जेनजी समूहको नाममा गरिएको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन क्षति हुनुका साथै कार्यालयभित्र रहेको सम्पूर्ण कागजात, फर्निचरसहितका सामग्री र अन्य भौतिक संरचना नष्ट भएको छ । त्यस्तै नगरपालिकाको दुई वटा वारुणयन्त्र (दमकल), एउटा टिप्पर र एउटा जेसिभी उपकरणमासमेत सो समूहले तोडफोड गरी क्षति पुर्याएका छन् ।
यस्तै ताप्लेजुङ जिल्ला अदालतले पनि बन्दी प्रत्यक्षीकरणको निवेदन, थुनछेक र म्याद थपबाहेकका सेवा अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ । अदालतका स्रेष्तेदार शम्मी कपुर शाहले बुधबार सूचना प्रकाशित गर्दै देशको विषम परिस्थिति र संवेदनशीलतालाई दृष्टिगत गरी सेवा बन्द गरिएको उल्लेख गर्नुभएको छ ।
स्रेष्तेदार शाहले सेवाग्राही साथै कानुन व्यवसायीहरुको असहजता समेतलाई मध्यनजर गरी अर्को सूचना नभए सम्मका लागि जिल्ला अदालतबाट प्रवाह हुने सेवा बन्द गरिएको जनाउनुभएको छ । उहाँका अनुसार नियमित पेशी, तारेख नगुज्रिने गरी अन्य सेवा बन्द भएको छ ।