• २६ भदौ २०८२, बिहिबार

सुदूरपश्चिमका जिल्ला कारगारबाट भागेका कैदीबन्दीको खोजी तीव्र

blog

भागेका कैदीबन्दी नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर : पुष्कर भण्डारी

सुदूरपश्चिम ब्युरो

धनगढी, भदौ २६ गते । जेनजी समूहको आन्दोलनका क्रममा मङ्गलबार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्ला कारागारबाट कैदीबन्दी भागेका छन् । तीमध्ये कतिपय नियन्त्रणमा आएका छन् । 

धनगढी समाचारदाताका अनुसार कैलाली कारागारबाट ६६६ कैदीबन्दी भागेका छन् । जेनजी आन्दोलनका क्रममा मङ्गलबार कारागारबाट एक जनाबाहेक सबै कैदीबन्दी भागेका हुन् । 

काराकार प्रशासनका अनुसार कारागारमा ६६७ कैदी रहेका थिए । जेनजी आन्दोलनकारीले गरेको कारागार कार्यालय जलाउनुका साथै कारागारमा तोडफोड गरेपछि एक जनाबाहेक सबै कैदी निस्केर गएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निस्केर गएका कतिपय कैदी सम्पर्क आएका छन् । उनीहरू कारागारमा फर्कन चाहेको जेलर सापकोटाले बताउनुभयो । “आफैँ फोन गर्दै कतिपय कैदी सम्पर्कमा आएका छन्,” उहाँले भन्नुभयो । 

गत साउन २३ गते राति कैलाली कारागारमा दुई पक्षका कैदीबिच हिंसात्मक झडप भएको थियो । सो झडपमा एक जनाको ज्यान जानुका साथै ४८ जना घाइते भएका थिए । सो घटनाको कारण पनि नभागे कुटपिट हुने डरले कैदी निस्केर गएको हुन सक्ने बताइएको छ । कैलाली कारागारमा नेपालीसहित भारतीय नागरिक पनि थिए । भारतीय कैदीबन्दी आफ्नो देशतिरै भागेको हुन सक्ने जनाइएको छ । भागेका कैदीको खोजबिन सुरु गरिएको छ । तत्काल पक्राउ गरेर उनीहरूलाई राख्ने अवस्था पनि नरहेको जनाइएको छ । 

कारागार कार्यालयदेखि लिएर गाडी, कम्प्युटर, कागजात, सिसी क्यामरा, टिभी, भिडियो कन्फ्रेन्स, टिभी सबै तोडफोड गरेर जलाइएको जेलर सापकोटाले बताउनुभयो । “अब कार्यालय नै छैन,” उहाँले भन्नुभयो, “तत्काल कैदी राख्न सकिने अवस्था नै छैन ।” कारागारमा रहेका कैदी भागेपछि सुरक्षा चुनौती झनै बढेको भन्दै स्थानीयसहित सरोकारवाला चिन्तित भएका छन् । 

तेत्तिस जना नियन्त्रणमा 

अमरगढी समाचारदाताका अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८, कीर्तिपुरमा रहेको डडेलधुरा कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये ३३ जनालाई सेना र प्रहरीले नियन्त्रणमा लिएको कारागार प्रशासक सन्तोषकुमार भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अझै ५२ जना फरार छन । उनीहरूको खोजी कार्य जारी छ । 

कारागार तोडफोड गरि कैदीबन्दी भागेका समाचार बाहिरिएपछि बुधबार बिहानैदेखि कैदीबन्दी गेटमा भेला भएका थिए । प्रशासक भट्टले भन्नुभयो, “प्रहरीले सुरक्षा दिँदादिँदै हुलहाल गरी कैदीबन्दी गेट तोडेर भागेका थिए । सेना र प्रहरीले खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो । कारागारमा ११८ कैदीबन्दी रहेका थिए ।” 

फर्किए २४ कैदी 

बेलौरी समाचारदाताका अनुसार कञ्चनपुर जिल्ला कारागार कार्यालय २४ कैदीबन्दी फर्किएका छन् । मङ्गलबार आन्दोलनकारीले कारागारको ताला तोडेर कैदी बाहिर निकालेपछि भागेकामध्ये २४ कैदीबन्दी भने कारागारमा फिर्ता आएको कारागार प्रशासनले जनाएको हो । कारागार कार्यालय कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीका अनुसार, ४५३ पुरुष र २६ महिला गरेर ४७९ कैदीबन्दी रहेका कारागारमा अहिले २४ कैदीबन्दी मात्र छन् । 

खलङ्गा समाचारदाताका अनुसार कारागार कार्यालय दार्चुलाबाट सुत्ने कोठाको ढोका र भित्री गेट तथा मूल गेटमा लगाइएको ताला तोडेर मङ्गलबार राति ७० जना कैदीबन्दी भागेका छन् । 

६४ जना कैदी र १३ जना थुनुवामध्ये ७० जना भागेको तथा सात जना भित्रै रहेको कारागार कार्यालय दार्चुलाका जेलर सरिता चन्दले जानकारी दिनुभयो । थुनुवा सबै भागेका छन् भने सात जना कैदीभित्रै रहेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौँको कारागारबाट कैदी भागपछि मङ्गलबार राति ९:३० बजेतिर आन्दोलनकारी नाराबाजी गर्दै तोडफोडमा उर्लिएपछि कैदीबन्दी भाग्न सफल भएका छन् । कैदीलाई छोड्ने कि नछोड्ने भन्ने विषयमा सुरक्षा समितिमा छलफल भइरहेकै अवस्थामा उनीहरू तोडफोड गरेर भागेको बताइएको छ । भागेकाको सबै तथ्याङ्क सुरक्षित रहेको तथा विभागलाई समेत पठाइसकेको जेलर चन्दले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारीले अनिल पौडेलले भागेका कैदीलाई नियन्त्रणमा लिने काम भइरहेको बताउनुभएको छ । “भागेका केही कैदी सम्पर्कमा आएका छन्, केहीलाई नियन्त्रणमा लिएको अवस्था छ,” उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले भागेका एक जना कैदी सम्पर्कमा आएको छ भने तीन जनालाई विभिन्न प्रहरी चौकीबाट नियन्त्रण लिएको जानकारी दिनुभयो । भागेका कैदी र थुनुवालाई सम्पर्कमा आउन उहाँले आग्रहसमेत गर्नुभएको छ । 

बैतडी समाचारदाताका अनुसार जेनजीले देशभरि गरेको आन्दोलन र प्रदर्शनका क्रममा बैतडी कारागारबाट ६१ जना कैदीबन्दी आजगनी र तोडफोड गरेर फरार भएका छन् । एक जना भने प्रहरीको सम्पर्कमा आएका छन् । 

मङ्गलबार राति करिब ९ बजेतिर कैदीले प्रवेशद्वार तोडफोड गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । उहाँले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताउनुभयो । कारागारमा ६२ जना कैदीबन्दी रहेका थिए । यस्तै बझाङ कारागारमा ८५ जना कैदीबन्दी रहेकोमा मङ्गलबार ६५ जना भागेका थिए । तीमध्ये चार जनालाई पक्राउ गरेर कारागार लगिएको छ भने बाँकीको खोजी भइरहेको छ ।