गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २६ गते । रोजगारी खोज्दै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ठुलो सङ्ख्याका युवा अलपत्र परेका छन् । सोमबारदेखि जारी जेन जी पुस्ताको आन्दोलनका कारण रोजगारी खोज्दै विदेश जाने तयारीमा रहेका युवा अलपत्र परेका हुन् ।
सोमबारको टिकट भएका केहीबाहेक अधिकांश उड्न सफल भए पनि मङ्गलबार र बुधबारको टिकट भएका चार हजारभन्दा बढी युवा विदेश जान रोकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै मङ्गलबारदेखि बन्द हुँदा विदेश जान हिँडेका युवा प्रभावित भएको जानकारी दिनुभयो । तथापि बुधबार अपराह्नबाट भने विमानस्थल खुला भएको छ ।
मङ्गलबार र बुधबारको टिकट भएका युवा कफ्र्युका कारण विमानस्थल बन्द भएर उडान स्थगन भएपछि टिकट र काम गुम्ने जोखिम रहँदारहँदै पनि महँगो शुल्क तिरेर गेस्ट हाउसमा बस्न बाध्य छन् । यो समयदेखि सामान्य हुन्छ भन्ने अवस्था नरहेकाले बिदामा आएर एक/दुई दिनभित्र विदेश पुग्नुपर्ने श्रमिकको अवस्थामा अन्योल रहेको सङ्घले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट दैनिक औसतमा दुई हजार दुई सय जनाले श्रम स्वीकृति लिने गरेका छन् । मङ्गलबार छिटफुट रूपमा काम भए पनि बुधबार त श्रम कार्यालयमा नै आगजानी भएपछि श्रम स्वीकृतिको कामसमेत प्रभावित भएको छ । वैदेशिक रोजगार विभागको कार्यालयमा पनि आंशिक रूपमा आगजनी भएको जनाइएको छ । जेन जी पुस्ताको आन्दोलनमा मङ्गलबार साँझ कार्यालयको एउटा भवनमा आंशिक क्षति पुगेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागको संवेदनशील संरचना भने आगलागीबाट जोगिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा ब्लकमध्ये एउटामा क्षति पुगेको छ । श्रम स्वीकृति प्रदान गरिने संरचनामा क्षति पुगेको छैन ।
विद्यमान विशेष परिस्थितिका कारण देशमा भएको निषेधाज्ञा तथा कफ्र्युका कारण विभागबाट प्रदान हुने श्रम स्वीकृति, अनुसन्धान तथा मुद्दाको व्यवस्थापन, राहत र उद्धारलगायत अत्यावश्यक सेवा प्रदान गर्न केही कठिनाइ भएको उहाँको भनाइ छ ।
यस्तै विभागबाट अनलाइन तथा फोनबाट प्रदान गर्न सकिने सेवा घरबाटै उपलब्ध गराइरहेको पनि महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । विभागका अनुसार अवस्था सामान्य नभएसम्म विभागका कर्मचारीले घर (वर्क फम होम) बाट सेवा प्रवाहको काम गर्ने सर्कुलर भएको छ । विभागबाट अन्तिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान सकिन्छ ।