• २६ भदौ २०८२, बिहिबार

पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

blog

काठमाडौँ, भदौ २६ गते । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न असहज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटेलसम्म आवतजावत गर्न सहजीकरण भइरहेको छ । पर्यटक आवतजावतका लागि मङ्गलबारदेखि काठमाडौँ र पोखरामा पर्यटकलाई सटल बसको व्यवस्था गरिएको छ ।

“पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन । उनीहरू निर्बाध रूपमा यात्रा गरिरहेका छन् । खास गरी काठमाडौँमा आगमन भइरहेको र काठमाडौँबाट स्वदेश फर्किने योजनामा रहेका पर्यटकलाई समस्या भइरहेको छ । विमानस्थलदेखि होटेल र होटेलबाट विमानस्थलसम्म लैजान सहजीकरण गरिएको छ,” सिइओ जोशीले भन्नुभयो । उहाँले मङ्गलबार दिउँसो सडक अवरुद्ध भए पनि विमानस्थलमा रहेका पर्यटकलाई पानी   र बिस्कुटको व्यवस्था गरी राति सुरक्षा निकायसँगको समन्वयमा होटेलमा पु¥याउन सहजीकरण गरिएको बताउनुभयो ।

बोर्डको विवरणमा पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाईमार्ग भएर नेपाल भित्रिएका छन् । तीमध्ये अधिकांश पदयात्रामा निस्किएका छन् । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा र केही काठमाडौँमा रहेका छन् । नेपालमा मनसुन सकिएर मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएको छ । यो सिजनमा धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् ।

बोर्डले विषम परिस्थितिमा पर्यटकको सूचना लिने र सहजीकरणको काम पनि गरिरहेको छ । सिइओ जोशीले राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल ट्रेका मानिसले सूचना सोधिरहेकाले बोर्डले सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । उक्त प्रयोजनका निम्ति बोर्डले सात जना कर्मचारीलाई डेडिकेटेड राखेर २४ सै घण्टा सूचना दिने काम गरिरहेको छ । कसैलाई कुनै समस्या परेको खण्डमा सूचना लिने र सम्बन्धित निकायमा सहजीकरणका लागि काम गरिएको छ । बोर्डले फोन, टोलफ्री नम्बर र इमेलमार्फत सूचना लिने र सहजीकरण गरिएको जनाएको छ ।