• २५ भदौ २०८२, बुधबार

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

blog

बुधबार तोडफोड गरिएको साब्लाखुस्थित सिदिङ्वा गाउँपालिका कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । साब्लाखु भञ्ज्याङमा रहेको गाउँपालिका कार्यालय बुधबार दिउँसो तोडफोड गरिएको हो ।

जेनजीका नाममा पुगेको एक समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेको जनाइएको छ । भ्रष्टाचारविरोधी नाराबाजी गर्दै पुगेका सो समूहले गाउँपालिका कार्यालयका ताल्चा फोर्दै तोडफोड गरेका हुन् ।

भञ्ज्याङवासी स्थानीयका अनुसार तोडफोड गर्न पुगेका समूहले कार्यालय तोडफोड गरी कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्री उठाएर लगेका छन् । सो समूहले कार्यालय तोडफोड गरी उठाएको सामग्री साब्लाखु स्वास्थ्य चौकीमा लगेर राखेका स्थानीयको भनाइ छ । 

गाउँपालिका कार्यालय तोडफोड गर्ने समूहको नेतृत्व र तोडफोड गर्नुको उद्देश्यबारे खुलिसकेको छैन । केही स्थानीयले हाल गाउँपालिका कार्यालय रहेको हालको वडा ४ साब्लाखुबाट वडा ५ लिम्बुदिन सार्नेगरी कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको विरोधमा तोडफोड गरेको हुनसक्ने अनुमान गरेका छन् । 

बुधबार कार्यालयमा तोडफोड भइरहँदा सिदिङ्वा गाउँपालिकाका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारी पालिकाको सहयोगमा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा गएको बताइएको छ । 

त्यस्तै जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार एक दिन शोक विदा र बिहीबारदेखि देशको परिस्थितिअनुसार अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द रहनेगरी गाउँपालिकाले मङ्गलबार नै सूचना जारी गरेको छ ।