चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २५ गते। ताप्लेजुङमा शान्ति सुरक्षालाई कायम राख्न कर्फ्यू जारी गरिएको छ। सम्भावित हुलदङ्गा र झडपका कारण प्रतिकूल वातावरण सिर्जना गई शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई दृष्टिगत गरी बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बुधबार साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यू आदेश जारी गर्नुभएको हो।
सूचना अनुसार पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कर्फ्यू लागु हुने उल्लेख छ। तोकिएको कर्फ्यूको समयावधि भर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि गर्न नपाइने भएको छ।
यस अवधिमा एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने छन्। उक्त सुविधाका लागि पनि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात अनिवार्य गरिएको छ।